सही खबर, सही समयमा

शिक्षक महासंघले खोज्यो आन्दोलनमा निजी विद्यालयहरूको सहयोग, शैक्षिक संस्था बन्द गर्न आग्रह

ई-दैनिक जागरण
२०८२ बैशाख ७, आईतवार १४:१४

काठमाडौँ, ७ वैशाख । काठमाडौंका सडकमा पछिल्लो १९ दिनदेखि प्रदर्शनमा रहेको शिक्षक महासंघले आन्दोलनमा साथ दिन निजी विद्यालयहरूलाई पनि आग्रह गरेको छ। सामुदासयिक विद्यालयका शिक्षक प्रतिनिधिहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला निजी विद्यालयमा भने शैक्षिक सत्र सुरु भइसकेको छ।

महासंघले विज्ञप्ति नै निकालेर निजी विद्यालय सञ्चालकहरूलाई केही समयका लागि शैक्षिक गतिविधि बन्द गरी आन्दोलनमा साथ दिन भनेको हो।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा अनुरोध छ।’

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति निकाल्दै देशभरका सबै विद्यालय पूर्णरूपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई आग्रह गरेका छन्। कक्षा १२ को परीक्षामा संलग्न नहुन सबैमा अपिल गर्दै महासंघले आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका कुनै पनि क्रियाकलाप नगर्न शिक्षकहरूलाई निर्देशन पनि दिएको छ। साभार – नागरिक

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?