वीरगंज जनस्वास्थ्य प्रयोगशालामा सेवा विस्तार, अब ७० प्रकारका परीक्षण
वीरगंज, ०७ मंसिर । वीरगंज महानगरपालिका अन्तर्गत संचालित जनस्वास्थ्य प्रयोगशालामा सेवाको दायरा थप विस्तार गरिएको छ।
पहिले ५५ वटा परीक्षण सेवा मात्रै उपलब्ध रहेकाे प्रयोगशालामा थप १५ नयाँ परीक्षण सुरु भएसँगै कुल ७० प्रकारका स्वास्थ्य परीक्षण उपलब्ध भएकाे मेयर राजेशमान सिंहले जानकारी दिएका छन्।
नयाँ समावेश सेवामध्ये HB1C, भिटामिन–D लगायतका सूक्ष्म परीक्षण विशेष उपयोगी ठहरिने अपेक्षा गरिएको छ।
मेयर सिंहका अनुसार यो प्रयोगशालामा हुने परीक्षण सेवा नारायणी अस्पतालसँग तुलना गर्दा पनि सस्तो छ।
“बाहिरको निजी ल्याबहरूमा १०० रुपैयाँ लाग्ने परीक्षण यहाँ २५ रुपैयाँमै हुने भएकाले सर्वसाधारणका लागि ठूलो राहत भएको छ,” मेयर सिंहले बताए।
सस्तो ल्याबका नाममा गलत रिपोर्ट दिने चलनलाई रोक्न अत्याधुनिक मेसिन प्रयोग गरिएको र सम्पूर्ण जिम्मेवारी वीरगंज महानगरको स्वास्थ्य शाखाले वहन गरेको पनि उनले स्पष्ट पारे। वीरगंजवासीले यो ल्याबबाट अधिकतम लाभ लिनुहोस्,” मेयर सिंहले आग्रह गरे।
एक महिना भित्र वीरगंजका चार स्थानमा कलेक्सन सेन्टर राखिने बताइएको छ। यहाँ संकलित रिपोर्टहरू आवश्यक परे प्रदेशिक ल्याब जनकपुर समेत पठाइने भएकाले सेवाग्राही निश्चिन्त भएर सेवा लिन सक्ने मेयर सिंहको आग्रह छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




