सही खबर, सही समयमा

एनआइ कप क्रिकेट : ज्ञानदा एकेडेमीको लगातार तेस्रो जित, बालएकता ७८ रनले पराजित

ई-दैनिक जागरण
२०८२ पुष ७, सोमबार २१:३६

अभिलाष गुप्ता

 वीरगंज, ०७ पुस । पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कप (एनआइ कप) अन्तर्गत पाँचौँ दिनको पहिलो खेलमा ज्ञानदा एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

 वीरगंजस्थित टिबी शाह (नारायणी) क्रिकेट मैदानमा सम्पन्न खेलमा ज्ञानदाले कलैयास्थित बालएकता कलेजलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । यसअघि ज्ञानदाले आयोजक नेशनल इन्फोटेक कलेजलाई २६ रन र अल्पाइन हाई स्कुललाई ११७ रनले पराजित गरिसकेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित १७ ओभरमा ४ विकेटको क्षतिमा १७२ रनको बलियो योगफल तयार गर्‍यो । जय सर्राफले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ५६ रनको अर्धशतकीय पारी खेले । प्रियांश सर्राफले २९ रन जोडे भने कप्तान चन्दन रामले १७ रन बनाए । बालएकताका बलरले २१ रन अतिरिक्त दिए ।
१७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बालएकता कलेज १६.५ ओभरमा मात्र ९४ रन बनाउँदै अलआउट भयो ।

करण साह तेलीले २१ र शिवकुमार कर्णले १६ रन बनाए पनि अन्य ब्याटरहरू टिक्न सकेनन् । बलिङतर्फ ज्ञानदाका चन्दन राम र प्रियांश सर्राफले ३–३ विकेट लिए भने मुना यादवले २ विकेट हात पारे । मोहम्मद सहिन र विवेक प्रजापतिले १–१ विकेट लिए। बालएकताका आरिफ आलमले २ विकेट लिए ।

एनआइ कप तराई–मधेस क्षेत्रकै सबैभन्दा लोकप्रिय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा स्थापित भएको छ । नेशनल इन्फोटेक कलेजद्वारा विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका १० कलेजका टोली सहभागी छन् । प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अवसर दिँदै क्षेत्रीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?