सही खबर, सही समयमा

ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलद्वारा आमाको माया छात्रावासका बालबालिकालाई जाडोयाम लक्षित सहयोग

ई-दैनिक जागरण
२०८२ पुष १०, बिहीबार २१:१०

अभिलाष गुप्ता

वीरगंज, १० पुस । वीरगंज जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, वीरगंजमा आश्रित बालबालिकाहरूलाई जाडोयाममा न्यानो र स्वास्थ्यकर रूपमा गरम पानी सेवन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलले १० थान थर्मस (Thermos) सहयोग प्रदान गरेको छ ।

ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानका अनुसार क्लबका विद्यार्थीहरूले आफ्नै खाजाको पैसा बचत गरेर उक्त सामग्री खरिद गरी सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हुन्। “सानो–सानो योगदानले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौँ,” अध्यक्ष खेतानले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रम ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई रहेका थिए । विशिष्ट अतिथिमा प्रकाश कर्ण तथा सञ्चारकर्मी अभिलाष गुप्ताको उपस्थिति रहेको थियो । साथै क्लबका पूर्व अध्यक्ष ओम द्विवेदी, मोहित मित्रुका, जेसिका यादव, रिपु राउत, एम.डी. साहिल, रिशान्त कुमार सिंहलगायत क्लबका सदस्यहरू तथा आमाको माया छात्रावासका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले विद्यार्थीहरूले सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय हुनु प्रशंसनीय रहेको बताउँदै भने ईन्टरएक्ट क्लबका विद्यार्थीहरूले देखाएको यो संवेदनशीलता र सेवाभाव वास्तवमै अनुकरणीय छ । यस्ता कार्यले समाजमा सकारात्मक सोच विकास गर्नुका साथै बालबालिकामा जिम्मेवारीबोध र मानवता सिकाउने काम गर्छ । 

त्यसैगरी विशिष्ट अतिथि प्रकाश कर्णले आउने एक हप्ताभित्र छात्रावासमा रहेका बाँकी १६ जना विद्यार्थीहरूका लागि १६ थान थर्मस सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अवसरमा बालबालिकाहरूलाई मोजा समेत वितरण गरिएको थियो। साथै केक काटेर सबै विद्यार्थीहरूलाई खुवाइँदा कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो । कार्यक्रम धुमधामका साथ, आत्मीय र खुशीपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?