मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा मारवाडी प्रिमियर लिग (MPL) सिजन–३ को खेलाडी अक्सन भव्य रूपमा सम्पन्न
अभिलाष गुप्ता
वीरगंज, १६ माघ । मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग (MPL) सिजन–३ अन्तर्गत आयोजना गरिएको खेलाडी अक्सन (Player Auction) कार्यक्रम शुक्रबार वीरगंजस्थित होटेल क्लार्क्स रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
१० वटा टिमको सहभागितामा सञ्चालन हुने MPL सिजन–३ आगामी फागुन २९ गतेदेखि चैत १० गतेसम्म (March 13–24) आयोजना हुने आयोजकले जानकारी दिएका छन्। उक्त अक्सन कार्यक्रममा विभिन्न टिमका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो भने अक्सन प्रक्रिया मार्फत लिगका लागि आवश्यक खेलाडीहरूको छनोट औपचारिक रूपमा सम्पन्न गरिएको थियो।
कार्यक्रमका सभापतिहरूमा जय प्रकाश खेतान र अनोज रुंगटा रहनुभएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, अनुसन्धान एसपी सन्तोष दुंगेल तथा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख सिंहले क्रिकेटजस्ता खेलकुद प्रतियोगिताले युवालाई अनुशासित, ऊर्जावान् तथा सकारात्मक सोचतर्फ अग्रसर गराउने बताउनुभयो। उहाँले मारवाडी प्रिमियर लिगले वीरगञ्जमा क्रिकेटको विकास, खेल प्रतिभाको पहिचान र खेल संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
आयोजक संस्थाहरूले खेलकुदमार्फत युवालाई सामाजिक उत्तरदायित्व, आपसी सहकार्य र सद्भावको भावना विकास गराउने उद्देश्यले MPL सिजन–३ आयोजना गरिएको जनाएका छन्। यस सिजनको प्रतियोगिता अझ प्रतिस्पर्धात्मक, अनुशासित र रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




