अभिलाष गुप्ता
वीरगंज, १३ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेकोप्रति दुःख व्यक्त गर्दै पूर्वमन्त्री एवं लोकप्रिय नेता अजय चौरसिया र मधेश प्रदेशका मन्त्री श्याम पटेलले वीरगञ्जस्थित प्रसिद्ध धार्मिक स्थल श्री गहवा माई मन्दिरमा विशेष पूजा तथा प्रार्थना गरेका छन्।
उनीहरूले श्री गहवा माईसँग देशमा शान्ति, समृद्धि र सुख–शान्ति कायम रहोस् तथा प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनःस्थापना प्रभावकारी रूपमा हुन सकोस् भन्ने कामना गरेका थिए।
प्रार्थनाका क्रममा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरिएको थियो। साथै, विपद्को समयमा प्रभावित नागरिकहरूलाई सहयोग तथा राहत उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई थप सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो।
संयोगवश सोही दिन पूर्वमन्त्री एवं लोकप्रिय नेता अजय चौरसियाको जन्मदिन समेत परेको थियो। जन्मदिनको अवसरमा श्री गहवा माई मन्दिर परिसरमै ज्योतिष डा. पुरुषोत्तम दुबेद्वारा चौरसियालाई गमछा ओढाएर सम्मान तथा शुभकामना प्रदान गरिएको थियो।
ज्योतिष डा. दुबेले चौरसियाको जन्मदिनको अवसरमा दीर्घायु, सुस्वास्थ्य तथा सफल राजनीतिक एवं सामाजिक जीवनको शुभकामना व्यक्त गर्दै समाज र देशको हितमा निरन्तर योगदान गर्न सफल रहून् भन्ने कामना गरेका थिए।
कार्यक्रममा दिना गुप्ता, मनिन्द्रलाल नेपाली, ध्रुव नेपाल, मिन्टू सिंह, विभा साह, कोपिला कँडेल, कामेश्वर मिश्र, धीरज साहलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै, देशमा शान्ति, सद्भाव र स्थायित्व कायम होस् भन्ने सामूहिक प्रार्थना समेत गरिएको थियो।

