रक्सौल, पूर्वी चम्पारण १९ भदाै । शिक्षक दिवसको अवसरमा शान्तिनिकेतन आदर्श विद्यालय, लक्ष्मीपुर, रक्सौलमा शिक्षक सम्मान समारोह आयोजना गरिएको छ। कार्यक्रममा शिव शक्ति प्रा. लिमिटेडका निर्देशक सञ्जय कुमार गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समारोहको सञ्चालन विद्यालयका प्रधानाचार्य साइमन रेक्सले गर्नुभएको थियो।
कार्यक्रममा शिक्षकहरूको शैक्षिक योगदान, शिक्षणको गुणस्तर तथा विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकाबारे चर्चा गरिएको थियो। वक्ताहरूले शिक्षकहरूले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। शिक्षकहरूको मार्गदर्शनबाट विद्यार्थीहरूले शिक्षासँगै संस्कार, अनुशासन र नैतिक मूल्यसमेत सिक्ने उहाँहरूको भनाइ थियो।
यस अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकालाई सम्मान गरिएको थियो। विद्यालयका प्रधानाचार्य साइमन रेक्स, निर्देशक अरविन्द कुमार सिंह तथा अशोक कुमार सिंहले शिक्षकहरूलाई शिक्षक दिवसको शुभकामना व्यक्त गर्नुभयो।
समारोहमा शिक्षक विक्टर डेका, कुन्दन राज, मन्दीप कुमार, प्रीति म्याम, कञ्चन म्याम तथा रामभरोस सरलगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो। सम्मान समारोहलाई लिएर शिक्षकहरूमा उत्साह र खुसीको वातावरण देखिएको थियो।
यसै अवसरमा लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२२ ई, जोन ४१ का जोन चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी बिमल सर्राफले पनि विद्यालयका प्रधानाचार्य साइमन रेक्ससहित सम्पूर्ण शिक्षक–शिक्षिकालाई शिक्षक दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।
उहाँले पठाउनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “प्रथम गुरु माता–पितापछि जीवनमा यदि कसैको सर्वोच्च स्थान हुन्छ भने त्यो गुरुको हुन्छ। गुरुहरूले आफ्ना ज्ञान, मार्गदर्शन र संस्कारमार्फत बालबालिकाको जीवनलाई सही दिशामा अघि बढाउँदै उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ।”

