अभिलाष गुप्ता
वीरगंज, २३ भदौ । जेन–जी आन्दोलनको स्मृतिमा जेन–जी पर्साले वीरगंजकाे घण्टाघरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी जेन–जी सहिद दिवस मनाएको छ।
कार्यक्रममा जेन–जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले आन्दोलनका क्रममा युवामाथि गोली चलाउने तथा कार्की आयोगको छानबिन प्रतिवेदनमा दोषी देखिएकाहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गर्नुभयो।
संयोजक कुर्मीले भ्रष्टाचार, कमिसनखोरी र बेथितिविरुद्ध तथा सामाजिक न्याय, सुशासन र परिवर्तनको पक्षमा आवाज उठाउने सबै युवा जेन–जी भएको बताउनुभयो। देशको विकास र समृद्धिका लागि सबै युवा एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यस्तै, जेन–जीका चन्दन महतोले पनि सबै युवा परिवर्तनको पक्षमा एकजुट हुनुपर्ने बताउँदै आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका विभिन्न वडाबाट आएका जेन–जी युवाहरू, आन्दोलनका अगुवा तथा आन्दोलनकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनका दोषीलाई कारबाहीको माग गर्दै जेन–जी पर्साले दीप प्रज्वलनसहित सहिद दिवस मनाएको हो।

