वीरगंज, २५ भदाै । नेपाल सीएमए संघको २३ औँ स्थापना दिवसको अवसरमा बाढी–पहिरोबाट प्रभावित तथा पीडित व्यक्तिहरूका लागि वीरगञ्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सीएमए संघ जिल्ला कार्यसमिति पर्साको आयोजनामा भएको कार्यक्रममा एक महिलासहित २८ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा महिला रेनु गुप्तासहित जितेन्द्र महतो, राधेश्याम साह, शुक्रुल्लाह अन्सारी, कुन्दन गुप्ता, बसिर अहमद, विश्वनाथ चौरसिया, धर्मेन्द्र ठाकुरलगायत रहेका छन्।
कार्यक्रमको अध्यक्षता नेपाल सीएमए संघ पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष जितेन्द्र महतोले गरेका थिए। कार्यक्रममा नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
त्यस्तै, विशिष्ट अतिथि डा. नीरज सिंह, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार थापा, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, रामेश्वर प्रसाद, सोनालाल चौरसिया, दीनानाथ रौनियार, कार्यक्रम संयोजक सुभाष गुप्ता तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मी कन्हैया पटेललगायतको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रबाट सौरभ राज पाण्डेको नेतृत्वमा आएको टोलीले रक्तदाताहरूको स्वास्थ्य जाँच तथा रक्त संकलनमा सहयोग गरेको थियो।
आयोजकका अनुसार बाढी–पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित नागरिकका लागि आवश्यक पर्ने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

