वीरगंज, २५ भदाै । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एस अन्तर्गत लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीको आयोजनामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउने व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा, दीप प्रज्वलन तथा शान्ति पाठ कार्यक्रम सम्पन्न भएको छ।
गहवामाई मन्दिर परिसरमा बिहीबार आयोजित कार्यक्रममा बिहान ७ बजे दीप प्रज्वलन गरी एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि पण्डित जितेन्द्रकुमार झाले शान्ति पाठ गराउनुभएको थियो।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, डिस्ट्रिक्ट चिफ तथा चार्टर्ड प्रेसिडेन्ट लायन अशोक बेरिवाल, जोन चेयरपर्सन तथा इमिडिएट पास्ट प्रेसिडेन्ट लायन उमेशकुमार गुप्ता, सचिव लायन नेल्सन भण्डारी, सहसचिव लायन प्रसिद्धि आनन्द सिंह, सदस्य लायन श्रुति गुप्ता तथा लायन कोमल गुप्तालगायत गहवामाई सञ्चालक समितिका सदस्य गणेश ठाकुर, भोला कहार र सञ्जयकुमारको उपस्थिति रहेको थियो।
यस अवसरमा डिस्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले विनाशकारी बाढीबाट उत्पन्न अकल्पनीय विपद्को यस घडीमा सबैलाई एकजुट भएर पीडितहरूको सेवा तथा सहयोगमा जुट्न आह्वान गर्नुभयो। उहाँले लायन्स क्लबले राहत तथा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग जारी राख्ने बताउनुभयो। उहाँले बाढीमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो।
क्लबकी अध्यक्ष लायन पिया सिंह तथा डिस्ट्रिक्ट चिफ एवं चार्टर्ड प्रेसिडेन्ट लायन अशोक बेरिवालले संयुक्त रूपमा भोटेकोशी र त्रिशूली नदीको प्रलयकारी बाढीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरू सकुशल भेटिन सकून् भन्ने कामनासमेत गर्नुभयो।
लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीले प्राकृतिक विपद्का प्रभाव न्यूनीकरण तथा प्रकृतिको सन्तुलन कायम राख्न सबैलाई सचेत र जिम्मेवार बन्न अपिल गरेको छ। क्लबले “Service With Pride” को भावनासहित सामाजिक सेवाको क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
यसै अवसरमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ई, जोन ४१ रक्सौलका जोन चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक सह मिडिया प्रभारी बिमल सर्राफले पनि रक्सौलबाट पठाउनुभएको सन्देशमार्फत भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाउनेहरूप्रति शोक तथा समवेदना व्यक्त गर्नुभएको छ।
बिमल सर्राफले यस भीषण प्राकृतिक विपद्मा ज्यान गुमाउने सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै ईश्वरसँग दिवंगत आत्माहरूलाई आफ्नो श्रीचरणमा स्थान प्रदान गर्न तथा शोकसन्तप्त परिवारलाई यस अपार दुःख सहन सक्ने शक्ति प्रदान गर्न प्रार्थना गर्नुभएको छ। उहाँले लायन्सको विचारधारा मूलतः मानवताको सेवा तथा आवश्यकतामा परेकाहरूको सहयोगमा समर्पित रहेको बताउँदै विपद्को घडीमा पीडित मानवतासँग उभिनु नै सच्चा सेवा र मानवीय संवेदना भएको उल्लेख गर्नुभयो।
उल्लेखनीय छ, लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीले अध्यक्ष लायन पिया सिंहको नेतृत्वमा मंगलबार वीरगज ४ स्थित त्रिजुद्ध विद्यालयको छात्रावासमा अध्ययनरत दृष्टिविहीन तथा दृष्टिसम्बन्धी अपाङ्गता भएका छात्र–छात्राका लागि शारीरिक सरसफाइसम्बन्धी सचेतना तथा कपाल काट्ने कार्यक्रमसमेत आयोजना गरेको थियो।

