वीरगंज, ०४ असाेज । नेसनल प्याब्सन, मधेस प्रदेशको तेस्रो प्रदेश अधिवेशन महोत्तरीको बर्दिबासस्थित होटल नाब्यामा प्रा.लि.मा उत्साहपूर्ण, सौहार्दपूर्ण तथा मर्यादित वातावरणमा सम्पन्न भएको छ।
आश्विन ३ र ४ गते आयोजित अधिवेशन मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहको प्रमुख आतिथ्यता, नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष तथा संविधान सभा सदस्य गीता राणा क्षेत्रीको विशेष आतिथ्यता तथा नेसनल प्याब्सन मधेस प्रदेशका अध्यक्ष डा. नन्दन यादवको सभापतित्वमा सम्पन्न भएको हो।
अधिवेशनमा अधिवेशन संयोजक तथा निवर्तमान केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरी, पूर्व अध्यक्ष कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष ब्रजेन्द्र मिश्रा, केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, विभिन्न प्रदेशका अध्यक्ष एवं पदाधिकारीहरूका साथै मधेस प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने विद्यालय सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनले नेसनल प्याब्सन मधेस प्रदेशको नयाँ नेतृत्वसमेत चयन गरेको छ। अधिवेशनबाट प्रभुलाल कुशवाहाको अध्यक्षतामा २० सदस्यीय पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। बाँकी पाँच सदस्य बैठकबाट मनोनित गरिने र त्यसपछि २५ सदस्यीय प्रदेश कार्यसमिति पूर्ण हुने जनाइएको छ।
नयाँ कार्यसमितिको सर्वसम्मत चयनलाई संगठनभित्रको एकता, सहकार्य, आपसी विश्वास तथा साझा उद्देश्यप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।
नवनिर्वाचित नेतृत्वले निजी तथा संस्थागत विद्यालयहरूको हकहित संरक्षण, शिक्षाको समग्र विकास, विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा अभिभावकका साझा सवालहरूको सम्बोधन गर्दै मधेस प्रदेशको शैक्षिक उन्नयनका लागि प्रभावकारी र परिणाममुखी कार्य गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रबहादुर भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए। उनले निर्वाचन समितिको तर्फबाट नवनिर्वाचित प्रदेश नेतृत्वलाई बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।
अधिवेशनले मधेस प्रदेशमा निजी तथा संस्थागत विद्यालय क्षेत्रका साझा समस्या, चुनौती र शैक्षिक विकासका सवालमा थप सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

