वीरगंज, ०९ असाेज । नेपाली कांग्रेसका नेता अनिल प्रसाद सिंह पर्सा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा उम्मेदवार बन्नुभएको छ।
सिंहले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिनुभएको हो। उहाँले समानता, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्दै संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सिंहले नेपाली कांग्रेसको नीति, विचार र आदर्शलाई आत्मसात् गर्दै पर्सा–१ मा पार्टी संगठनलाई थप एकताबद्ध र जनमुखी बनाउने बताउनुभएको छ। उहाँले नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच सहकार्य र समन्वय बढाउँदै संगठनलाई जनतासँग अझ नजिक बनाउने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ।
उम्मेदवार सिंहले पर्सा–१ का जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा विकासका विषयमा पार्टीमार्फत प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

