अभिलाष गुप्ता
वीरगंज, ०८ असोज । भारतको कोलकाताबाट नेपालका लागि कन्टेनर रेल सेवा सुरु भएको छ। प्यासिफिक इन्टरनेसनल लाइन्स (पीआईएल) ले भारतको कोलकाता पोर्टबाट नेपालका लागि पहिलो कन्टेनर रेल सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार उक्त रेल सेप्टेम्बर १९ मा नेपालतर्फ प्रस्थान गरेको छ।
नयाँ रेल सेवाले भारत–नेपालबीचको रेल तथा समुद्री ढुवानी सञ्जाललाई थप मजबुत बनाउँदै नेपालतर्फको कार्गो ढुवानीमा समय तथा लागत घटाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ। यससँगै कोलकाताबाट नेपालसम्म सामान आयात तथा निर्यात गर्ने व्यवसायीलाई थप व्यवस्थित र सहज ढुवानी सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।
पीआईएलका अनुसार नयाँ सेवामार्फत तेस्रो मुलुकबाट कोलकाता हुँदै नेपाल आउने कार्गोका लागि समुद्री तथा रेल ढुवानीलाई एकीकृत गरिएको छ। यसले विशेषगरी नेपालका आयातकर्ता तथा निर्यातकर्तालाई कार्गो व्यवस्थापनमा थप सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार चीनका प्रमुख बन्दरगाहबाट कोलकातासम्म समुद्री मार्गबाट सामान आउन करिब १४ दिन लाग्ने गरेको छ। उक्त समुद्री ट्रान्जिटपछि रेल सेवासँग जोडेर चीनबाट नेपालसम्मको कुल ट्रान्जिट समय करिब २० दिनमा सीमित गर्न सकिने पीआईएलले जनाएको छ।
रेल सेवाको प्रयोगले बन्दरगाहबाट नेपालसम्म हुने कार्गो ढुवानीलाई थप व्यवस्थित बनाउनुका साथै सडकमार्गमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट नेपालका आयातकर्ता तथा निर्यातकर्ताले छिटो र व्यवस्थित रूपमा सामान ढुवानी गर्न सक्ने कम्पनीको भनाइ छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारतका बन्दरगाह तथा स्थलमार्ग महत्वपूर्ण माध्यमका रूपमा प्रयोग हुँदै आएका छन्। कोलकाता बन्दरगाहबाट रेलमार्फत कन्टेनर ढुवानीको सेवा विस्तार भएपछि नेपालका उद्योगी, व्यवसायी तथा आयात–निर्यातमा संलग्न पक्षलाई थप विकल्प उपलब्ध हुने देखिएको छ।
पीआईएलले नयाँ रेल सेवामार्फत नेपालमा हुने कार्गो ढुवानीलाई थप प्रभावकारी बनाउने तथा व्यापारिक ढुवानी प्रक्रियामा समय र लजिस्टिक्स लागत कम गर्न सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।

