अभिलाष गुप्ता
वीरगंज, ०८ असोज। वीरगंज महानगरपालिका वडा नम्बर १४ सानो पिपरामा बिहीबार श्री बौधिमाई व्यवस्थापन संस्थाको उद्घाटन गरिएको छ। बौधिमाई मन्दिरको संरक्षण, व्यवस्थित व्यवस्थापन तथा धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले संस्था गठन गरिएको हो।
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं संविधानसभा सदस्य बिचारी प्रसाद यादवले वृक्षारोपण गर्दै संस्थाको उद्घाटन गरेका हुन्। कार्यक्रम संस्थाका अध्यक्ष धुरुण पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता अनिल पटेल, आम जनता पार्टी पर्साका अध्यक्ष विश्वराज पटेल, सञ्चारकर्मी राकेश साह, पूर्व वडा अध्यक्ष भरत कुर्मीलगायतले बौधिमाई क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
संस्थाका सचिव मुकेश पटेलले बौधिमाई मन्दिरको संरक्षणसँगै व्यवस्थित व्यवस्थापन गरी यसको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले संस्था गठन गरिएको बताए। उनका अनुसार आगामी दिनमा मन्दिर तथा आसपासको क्षेत्रमा सरसफाइ, संरक्षण, सौन्दर्यीकरण तथा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि यादवले बौधिमाई मन्दिरको विकासका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। आफू २०७० सालमा सांसद हुँदा उक्त क्षेत्रमा स्नानघर निर्माण गरी विकासको सुरुवात गरेको स्मरण गर्दै उनले वीरगञ्जको धरोहरका रूपमा रहेको बौधिमाई क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासीसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
ाधुरुण पटेलको अध्यक्षतामा गठित ११ सदस्यीय संस्थाको उपाध्यक्षमा संदेश पटेल, सचिवमा मुकेश पटेल, सहसचिवमा बद्रीनारायण पटेल र कोषाध्यक्षमा मुनेश कुमार पटेल रहेका छन्। सदस्यहरूमा प्रताप कुमार पटेल, गगनदेव पटेल, धर्मेन्द्र पटेल, पिंकी कुमारी र कृष्णा पटेल रहेका छन्।सो अवसरमा नव गठित समितीका पदाधिकारी तथा सदस्यहरुलाई गम्छा ओढाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जन, वडा सदस्य कान्ति देवी चमार, सदस्य प्रमिला देवी महरा, पत्रकार अभिलाश गुप्ता, सन्तोष कुशवाहालगायत स्थानीयवासीको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण पत्रकार आनन्द पटेलले गरेका थिए।

