राजन कुमार बानिया
पर्सा, १५ असोज । वैदेशिक रोजगारीका लागि पाँच वर्ष कतार बसेर फर्किएका पर्साको धोबीनी गाउँपालिका–४, लंगडीका ४० वर्षीय मुस्लिम मियाँ अहिले आफ्नै गाउँमा व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बन्ने प्रयासमा छन्।
सन् २००८ देखि २०१३ सम्म कतारमा रोजगारी गरेका मियाँले त्यहाँ मेनपावर कम्पनीमार्फत पेन्ट पसलमा काम गरेका थिए। वैदेशिक रोजगारीमा जान करिब ६० हजार रुपैयाँ खर्च गरेका उनले त्यहाँ मासिक करिब ३६ हजार रुपैयाँ तलब पाउने गरेका थिए। दैनिक करिब १२ घण्टा काम गर्नुपर्ने र परिवारबाट टाढा बस्नुपर्ने अवस्थाले उनलाई आफ्नै गाउँ फर्किएर केही गर्ने सोच बनाउन प्रेरित गरेको थियो।
कतारबाट फर्किएपछि मियाँले २०७५ सालदेखि लंगडीमै सेलर मिल सञ्चालन गर्दै आएका छन्। करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन भइरहेको व्यवसायबाट उनले अहिले मासिक करिब ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बताए।
विदेशमा पाँच वर्ष काम गरेर कमाएको रकमसँगै बैंकबाट केही ऋण लिएर जग्गा खरिद गरी घर निर्माण गरेका मियाँले आफ्नै ठाउँमा व्यवसाय सुरु गरेका हुन्। सेलर मिलमा धान, गहुँ, मकै, तेलहन तथा दालहनलगायत कृषि उत्पादनसँग सम्बन्धित सामग्रीको कारोबारसमेत गर्दै आएका छन्। व्यवसायको सुरक्षाका लागि पसलमा सीसीटीभी क्यामेरासमेत जडान गरिएको छ। मियाँ विवाहित हुन्। उनका एक छोरा र दुई छोरी छन्।
आमाबुबा, भाइ तथा परिवारका अन्य सदस्यसहित करिब १७ जनाको संयुक्त परिवार रहेको उनले बताए। वैदेशिक रोजगारीको अनुभव सुनाउँदै मियाँले विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपर्ने अवस्था रहे पनि अहिले आफ्नै गाउँमा बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्टि मिलेको बताए।
“विदेशमा १२ घण्टा काम गर्नुभन्दा आफ्नै घरमा बसेर ८ घण्टा मेहनत गरी आफ्नै व्यवसाय सञ्चालन गर्नु राम्रो रहेछ,” मियाँले भने।
उनले विदेशमा कमाएको अनुभव र पूँजीलाई स्वदेशमै लगानी गर्न सके गाउँमै बसेर आम्दानी गर्न सकिने बताए। “विदेशमा पाँच वर्ष बसेर फर्किएँ। अहिले आफ्नै देशमा आफ्नै व्यवसाय गरेर काम गर्दा बढी सन्तुष्टि मिलेको छ,” उनले भने।
वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै गाउँमा व्यवसाय सञ्चालन गरिरहेका मियाँको यात्राले स्थानीयस्तरमै उद्यम तथा व्यापारमार्फत रोजगारी र आयआर्जनको सम्भावना रहेको देखाएको छ। विदेशमा श्रम बेचेर फर्किएका युवाले सीप, अनुभव र पूँजीलाई स्वदेशमै लगानी गर्न सके आत्मनिर्भर बन्न सकिने उनको अनुभवले सन्देश दिएको छ।

