अभिलाष गुप्ता
वीरगंज, २१ असोज । वीरगंज महानगरपालिका वडा नम्बर ५ मा स्थानीयवासीको खानेपानी समस्या समाधान गर्न नयाँ खानेपानी बोरिङ जडान गरिएको छ। स्थानीयवासीको गुनासोलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रदीप चौरसियाको पहलमा नयाँ स्थानमा बोरिङ जडान गरिएको हो।
यसअघि प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत वडा नम्बर ५ मा खानेपानीका लागि बोरिङ जडान गरिएको थियो। तर उक्त बोरिङबाट सीमित रूपमा दुई–तीन घरमा मात्रै पानी प्रयोग भइरहेको र अधिकांश स्थानीयवासी खानेपानीको समस्यामा रहेको गुनासो स्थानीयहरूले वडा अध्यक्षसमक्ष गरेका थिए।
खानेपानीको अभावका कारण स्थानीयवासीलाई दैनिक उपभोगका लागि पानी जुटाउन समस्या भइरहेको विषयमा गुनासो आएपछि वडा अध्यक्ष चौरसियाले स्थानीयको माग र आवश्यकतालाई प्राथमिकतामा राख्दै नयाँ स्थानमा खानेपानी बोरिङ जडान गराएका हुन्।
नयाँ बोरिङ सञ्चालनमा आएपछि विगतमा खानेपानीको समस्या झेल्दै आएका धेरै घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। नयाँ बोरिङबाट धेरै घरधुरीमा पानी पुग्ने भएपछि स्थानीयवासीले वडा अध्यक्ष चौरसियाप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।
स्थानीयवासीले आफूहरूको वास्तविक समस्या सुनेर तत्काल पहल गरेको भन्दै वडा अध्यक्षको प्रशंसा गरेका छन्। उनीहरूले खानेपानीजस्तो आधारभूत आवश्यकताको समस्या समाधानका लागि गरिएको पहलले स्थानीयको दैनिक जीवनमा सहजता आउने बताएका छन्।
वडा अध्यक्ष चौरसियाले स्थानीयवासीको आधारभूत आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर वडा तहबाट गर्न सकिने पहल निरन्तर गरिने बताएका छन्। उनले खानेपानी, सरसफाइ, सडक तथा अन्य आवश्यक पूर्वाधारका क्षेत्रमा समेत स्थानीयको मागअनुसार काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

