हाजीपुर, बिहार 08 oct. असाेज २२ । वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनको आयोजनामा महात्मा गान्धीद्वारा प्रकाशित प्रसिद्ध साप्ताहिक पत्रिका ‘यंग इन्डिया’को प्रकाशन दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
सम्मेलनका अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. शशि भूषण कुमारको नेतृत्वमा हाजीपुरस्थित ट्यागोर किड्स एन्ड हाई स्कुलमा आयोजित कार्यक्रममा महात्मा गान्धीको तस्वीरमा पुष्पाञ्जली अर्पण गर्दै उहाँको पत्रकारिता र योगदानलाई स्मरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि भारत सरकारको गृह मन्त्रालयअन्तर्गत इन्टेलिजेन्स ब्युरोका पूर्वपदाधिकारी सुरेन्द्र प्रसाद सिंहले ‘यंग इन्डिया’ स्वतन्त्रता आन्दोलनका क्रममा जनजागरणको महत्वपूर्ण माध्यम बनेको बताए। उनले पत्रिकामार्फत गान्धीले स्वतन्त्रता, अहिंसा, सत्य र राष्ट्र निर्माणसम्बन्धी आफ्ना विचार जनतासमक्ष पुर्याएको उल्लेख गरे।
उनका अनुसार ‘यंग इन्डिया’को प्रकाशन सन् १९१९ अक्टोबर ८ देखि सुरु भई सन् १९३१ सम्म जारी रहेको थियो। अंग्रेजी भाषामा प्रकाशित उक्त पत्रिकाले स्वतन्त्रता आन्दोलनका क्रममा राजनीतिक, सामाजिक तथा बौद्धिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनका अध्यक्ष, ट्यागोर किड्स एन्ड हाई स्कुलका निर्देशक तथा ‘ह्युमन राइट्स टुडे’का सम्पादक डा. शशि भूषण कुमारले महात्मा गान्धी स्वतन्त्रता आन्दोलनका महानायक मात्र नभई प्रभावशाली पत्रकार, लेखक तथा विचारकसमेत रहेको बताए।
उनले गान्धीको पत्रकारिताको उद्देश्य केवल समाचार प्रकाशन गर्नु नभई समाजमा बौद्धिक जागरण, जनचेतना तथा अधिकारप्रतिको जागरूकता सिर्जना गर्नु रहेको बताए। ‘यंग इन्डिया’ले त्यसबेला देशवासीमा स्वतन्त्रता, आत्मसम्मान र राष्ट्र निर्माणको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो।
विद्यालयकी प्राचार्य कुमारी पिंकीले महात्मा गान्धीको पत्रकारिता तथा उहाँले सञ्चालन गरेका विभिन्न जनजागरण अभियानबारे प्रकाश पारिन्। उनले पत्रकारितालाई सामाजिक चेतना र सकारात्मक परिवर्तनको सशक्त माध्यमका रूपमा गान्धीले प्रयोग गरेको बताइन्।
कार्यक्रममा वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य गणमान्य व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई गान्धीका सत्य, अहिंसा, स्वावलम्बन, राष्ट्रप्रेम तथा जनसेवाका विचारलाई जीवनमा आत्मसात् गर्न आग्रह गरेका थिए।

