अभिलाष गुप्ता
वीरगंंज, २७ असाेज । बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीमा महाबिरी झण्डा मेलाको अवसरमा नेपाल र भारतका प्रसिद्ध पहलवानहरूको सहभागितामा कुस्ती दंगल सम्पन्न भएको छ। स्थानीय कला, संस्कृति, परम्परा तथा खेलकुदको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दंगल हेर्न बारा, पर्सा तथा आसपासका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा दर्शकहरू पुगेका थिए।
कुस्ती दंगलको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखका प्रत्यासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले गर्नुभएको थियो। दंगलको उद्घाटन गर्दै पटेलले खेलकुदको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि आफूले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पटेलले आफू पनि खेलाडी रहेको र खेलाडी परिवारबाट आएको उल्लेख गर्दै खेलकुद क्षेत्रका समस्या तथा खेलाडीहरूको आवश्यकता आफूले नजिकबाट बुझेको बताउनुभयो। उहाँले आगामी छ महिनापछि वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएमा खेलाडीहरूका लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास, एकता र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै उहाँले कुनै एउटा खेलमा मात्र सीमित नभई सबै विधाका खेलाडीलाई सहयोग गर्ने बताउनुभयो। स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास गर्न खेलाडीलाई आवश्यक अवसर, प्रोत्साहन र सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।
महाबिरी झण्डा मेलाको मुख्य आकर्षणका रूपमा रहेको कुस्ती दंगलमा नेपाल र भारतका चर्चित पहलवानहरूको सहभागिताले दर्शकहरूमा उत्साह थपेको थियो। दंगल हेर्न आएका दर्शकहरूले पहलवानहरूको प्रतिस्पर्धा, शारीरिक कौशल र खेल प्रदर्शनको भरपूर मनोरञ्जन लिएका थिए। परम्परागत रूपमा आयोजना हुँदै आएको यस दंगलले स्थानीयस्तरमा कुस्ती खेलप्रतिको आकर्षण बढाउनुका साथै नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत थप मजबुत बनाउँदै आएको छ।
कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का वडाध्यक्ष रामेश्वर कलवार, वडा सदस्य दरा सिंह पटेल, शिवशंकर पटेल, अधिवक्ता रामचन्द्र सिंह, अजय पटेल, सुरेश पटेल, रामेश्वर पटेल र ब्रह्मदेव खलिफालगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। मेलाको अध्यक्षता छोटेलाल पटेलले गर्नुभएको थियो।
स्थानीय परम्पराअनुसार बहुअरीमा प्रत्येक वर्ष असोज महिनाको शुक्ल पक्षमा घटस्थापनापछि आउने शनिबार वा मंगलबार महाबिरी झण्डा मेला आयोजना हुँदै आएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मेलामा कुस्ती दंगल प्रमुख आकर्षणका रूपमा रहने गरेको छ।
मेलाले स्थानीय समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। विशेषगरी नेपाल र भारतका पहलवानहरूबीच हुने कुस्ती प्रतिस्पर्धाले यस क्षेत्रको परम्परागत खेल संस्कृतिलाई जीवन्त राख्न सहयोग पुर्याएको छ।
स्थानीय कला, संस्कृति र खेलकुदको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता मेलाहरूलाई निरन्तरता दिनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्। महाबिरी झण्डा मेलासँग जोडिएको कुस्ती दंगलले नयाँ पुस्तालाई परम्परागत खेलकुदप्रति आकर्षित गर्नुका साथै स्थानीयस्तरमा खेलाडी उत्पादन र प्रोत्साहनको सम्भावनालाई समेत उजागर गरेको छ।

