वीरगंज, ३१ असाेज । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा वीरगंजकाे प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ। मालपोत कार्यालय पर्सास्थित निशान भगवती माताको मन्दिरबाट निकालिएको डोलायात्रा गहवामाई मन्दिरमा पुगेर पूजाआजा गरेपछि पुनः निशान भगवती मन्दिरमा फर्काइएको हो।
फूलपाती भित्र्याउने धार्मिक परम्परा अनुसार निशान भगवती माताको मन्दिरबाट फूलपातीसहित निकालिएको डोलायात्रा गहवामाई मन्दिर पुगेको थियो। त्यहाँ विधिपूर्वक पूजाआजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरी फूलपाती पुनः निशान भगवती मन्दिरमा भित्र्याइएको थियो।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका प्रमुख, स्थानीयवासी तथा श्रद्धालु भक्तजनहरूको उपस्थितिमा विशेष पूजाआजा गरिएको थियो।
फूलपाती भित्र्याउने अवसरमा गहवामाई मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस अवसरमा महिला भक्तजनहरूले परम्परा अनुसार खोइछ भर्ने धार्मिक अनुष्ठानसमेत गरेका थिए।
बडादसैँको महत्वपूर्ण दिनका रूपमा रहेको फूलपातीले वीरगञ्जमा धार्मिक उत्साह र दसैँको रौनक थपेको छ। शक्ति स्वरूपा भगवतीप्रतिको आस्था र परम्परासँग जोडिएको यस धार्मिक अनुष्ठानले वीरगंजकाे सांस्कृतिक तथा धार्मिक महत्त्वलाई समेत उजागर गरेको छ।



