अभिलाष गुप्ता
वीरगंज,१७ कार्तिक । ‘जबसम्म सूर्य र चन्द्रमा यो धर्तीमा रहिरहन्छन्, सहिदको त्याग, तपस्या र बलिदान अमर रहिरहनेछ’ भन्ने मूल नाराका साथ ‘मधेस अबको बाटो : मधेसी राजनीतिको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित दशौँ शृङ्खलाको उक्त कार्यक्रम वीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको हो। सहिद परिवारकी विनीता शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेसको वर्तमान राजनीतिक अवस्था, पहिचान, अधिकार तथा सहिदहरूको योगदानका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा पूर्वसांसद पिंकी यादव, प्राध्यापक इन्दुशेखर मिश्रा, प्राध्यापक हरेराम ठाकुर, डा. उमेश चौरसिया, रम्भा मिश्रा, अधिवक्ता आनन्द गुप्ता, पूर्वउपप्रमुख सलमा खातुन, पूर्वप्रहरी उपरीक्षक रामेश्वर यादव, हरिबाबु चौधरी र ओमप्रकाश चौधरीलगायतको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा वक्ताहरूले मधेसको राजनीतिक पहिचान, सामाजिक अपेक्षा, संस्कार, संस्कृति तथा हकअधिकार स्थापित गर्न सहिदहरूको योगदानलाई उचित सम्मान र पहिचान दिनुपर्नेमा जोड दिएका थिए। मधेसको अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको इतिहास र बलिदानलाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्ने धारणा उनीहरूले व्यक्त गरेका थिए।
वक्ताहरूले सहिदहरूको योगदानलाई स्मरणमा मात्र सीमित नराखी उनीहरूले देखेका सपना, उद्देश्य र अधिकार प्राप्तिको अभियानलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याएका थिए। साथै मधेसको आगामी राजनीतिक दिशा, हालसम्म प्राप्त उपलब्धि, विद्यमान चुनौती र सम्भावनाका विषयमा समेत विचार–विमर्श गरिएको थियो।
कार्यक्रमले मधेसको राजनीतिक यात्राको समीक्षा गर्दै सहिदहरूको त्याग र बलिदानको इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउन तथा मधेसको पहिचान र अधिकारको सवाललाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमबारे सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानका संरक्षक सञ्जय यादवले जानकारी दिएका छन्।

