वीरगंज, २२ कार्तिक । आगामी निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट विभिन्न आकांक्षीहरूले चोक–चौराहा तथा सञ्चारमाध्यम मार्फत आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला पूर्व प्रदेशमन्त्री ओमप्रकाश शर्माले भने भित्री रूपमा आफ्नो तयारी तीव्र पारेका छन्।
खुला रूपमा ठूलो प्रचार–प्रसार नगरी ‘जोरका झट्का धीरे से’ शैलीमा चुनावी तयारी अघि बढाइरहेका शर्माले पार्टीभित्र तथा जनस्तरमा आफ्नो राजनीतिक सक्रियता बढाउँदै लगेको उनीनिकट स्रोतले जनाएको छ।
नेपाली कांग्रेसले यसअघि शर्मालाई समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य बनाउनुका साथै मन्त्रीसमेत बनाइसकेको छ। तर शर्मा भने अब प्रत्यक्ष रूपमा जनताको मतबाट निर्वाचित भएर जनप्रतिनिधिका रूपमा सेवा गर्ने आकांक्षामा रहेको बताइन्छ।
वीरगंजवासीको प्रत्यक्ष सेवा गर्ने इच्छा व्यक्त गर्दै आएका शर्माले पार्टीले आफूलाई मेयर पदको उम्मेदवारका रूपमा टिकट दिने विषयमा समेत विश्वास व्यक्त गर्दै आएको उनीनिकट स्रोतको भनाइ छ।
छठ पर्वपछि आफ्नो चुनावी रणनीति थप स्पष्ट बनाउने तयारीमा रहेका शर्माले विभिन्न राजनीतिक भेटघाट तथा जनसम्पर्कलाई पनि तीव्रता दिने योजना बनाएको स्रोतले जनाएको छ।
वीरगंज महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसभित्र आकांक्षीहरूको संख्या बढ्दै गइरहेका बेला ओमप्रकाश शर्माको भित्री तयारीले भने स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

