अभिलाष गुप्ता
वीरगंज, ०७ मंसिर । आन्तरिक राजस्व कार्यालय वीरगंजकाे आयोजनामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को समापन समारोह आइतबार सम्पन्न भएको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ वीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर अनुपालन गर्ने तीन जना करदातासहित निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा एक जना कर्मचारीलाई सम्मान गरिएको छ।
कार्यक्रम आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रमुख गजेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका निर्देशक सञ्जीवकुमार झा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समापन समारोहमा कर सप्ताहको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा कादम्बरी स्कुलकी छात्रा खुशी कुमारी गुप्ता प्रथम हुँदै ५ हजार रुपैयाँ, सोही विद्यालयका उत्सव घिमिरे द्वितीय हुँदै ३ हजार रुपैयाँ तथा गौतम स्कुलका अभिनवकुमार ठाकुर तृतीय हुँदै २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।
त्यसैगरी, कर प्रशासनमा योगदान पुर्याएको भन्दै कर्मचारी प्रदीप केशरीलाई सम्मान गरिएको थियो। वीरगञ्ज क्षेत्रमा रहेका करिब १ लाख ८० हजार करदातामध्येबाट उत्कृष्ट कर अनुपालन गर्ने तीन जना करदातालाई छनोट गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
सम्मानित हुने करदातामा ओम्नी हायर पर्चेज प्रा.लि.का सञ्चालक सन्दीप मोहता, ओम खाद्य उद्योग प्रा.लि.का सञ्चालक छत्तुलाल प्रसाद तथा गुन्जेश्वरी फार्माका आनन्द चौधरी रहेका छन्।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा कार्यालयले रक्तदान कार्यक्रम, निबन्ध लेखन प्रतियोगिता, प्रभातफेरी तथा करदाता शिक्षा कार्यक्रमलगायत विभिन्न गतिविधि सञ्चालन गरेको थियो। रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए।
करप्रति नागरिकमा सचेतना अभिवृद्धि गर्ने, करदातालाई कर प्रणालीबारे जानकारी गराउने तथा कर प्रशासन र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, संघका पूर्वअध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्का, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी तथा करदाताहरूको सहभागिता रहेको थियो।
कर अधिकृत उद्धव अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका करिब १४१ जनाको उपस्थिति रहेको थियो।
समापन समारोहमा सहभागी वक्ताहरूले मुलुकको आर्थिक समृद्धि, सुशासन र विकास निर्माणमा करको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नागरिकलाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले कर प्रणालीलाई पारदर्शी, सरल र व्यवस्थित बनाउँदै करदाता मैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

