मन्त्री गुप्तालाई नेकपा एमाले मधेश प्रदेश कमिटीले गर्यो सम्मानित
काठमाण्डौ, २३ भदौ । नेकपा एमाले मधेश प्रदेश कमिटीले आज एक विशेष समारोहको आयोजना गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सम्मान गरेको छ।
कार्यक्रम नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको थियो ।
समारोहको प्रमुख अतिथिका रुपमा उपस्थित मन्त्री गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरियो । उक्त सम्मान कार्यक्रम मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले सञ्चालन गरेका थिए।

अध्यक्ष मण्डलले मन्त्री गुप्तालाई सम्मान गर्दै सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गरे।
अध्यक्ष मण्डलले आफ्नो सम्बोधनमा मन्त्री गुप्ताले देशको संघीय संरचनामा शासन व्यवस्थामा सुधार ल्याउन र समग्र जनताको हितमा काम गर्न सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको बताए।
साथै मन्त्री गुप्ताले हालैका दिनहरूमा संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेश प्रदेशको विकास र समृद्धिका लागि उहाँले अझै बढी सक्रियता देखाउनु पर्नेमा जोड दिए ।
त्यसैगरी, अनुशासन आयोगका सचिव प्रा।डा।भरत पहारीले पार्टीका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचारसंहिताका बारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू प्रदेश लेखा आयोगका सदस्यहरू, आठ ओटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताए ।
प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा उपस्थित अन्य नेताहरुले पनि मन्तव्य राख्दै मन्त्री गुप्ताको प्रशंसा गरेका थिए र मधेश प्रदेशमा एमालेको सुदृढ उपस्थिति र योगदानका बारेमा छलफल गरेका थिए।
केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिब मनोज पौडेलले र स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?
