तास खेल्न सापटी लिएको पैसा फिर्ता नदिएको निहुँमा साथीको हत्या
वीरगंज,१५ फागुन । तास खेल्न सापटी लिएको पैसा फिर्ता नदिएको विषयमा विवाद पछि आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका– २७, उदयपुरका मुना तिवारी, सोही ठाउँका मुकेशप्रसाद यादव र अरुणकुमार यादव छन्। तीनै आरोपी १९ वर्षका रहेका प्रहरीले जनाएको छ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार फागुन ११ गते साँझ वीरगंज – २८ स्थित जगरनाथपुर ढाठभन्दा करिब ५०० मिटर पश्चिमतर्फ भेडैया खोलामा वडा नम्बर २७ का १९ वर्षीय इशाल प्रसाद कुर्मीको शव तैरिरहेको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा कुर्मीको हत्या भएको र घटनामा उनको साथीहरूकै संलग्नता देखिए पछि तीनैजना लाई पक्राउ गरेको प्रहरी उपरिक्षक मिश्रले बताए। उनका अनुसार पक्राउ परेका तीनैजना माथि ज्यान सम्बन्धी कसुर -कर्तव्य ज्यान मुद्दामा अनुसन्धान तथा कारबाही अघि बढेको छ।
कुर्मी र उनका छिमेकी साथीहरू तास खेल्न गएका थिए। तीन हजार ५ सय सापटी रकमको विषयमा विवादपछि मुकेश, अरुण र मुना मिलेर कुर्मीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




