मिसन ८४ का लागि चम्कँदै पर्सा–३ मा रुपेश पाण्डेय
काठमाडौं, १७ आषाढ । पर्सा–३ को राजनीतिमा एउटा नयाँ नेताको उदयले व्यापक चर्चा पाउन थालेको छ । युवा व्यवसायी रुपेश कुमार पाण्डेयको मिसन ८४ अभियानुले नयाँ पुस्तालाई राजनीतिक चेत बाँडिरहेको छ । उनी पुराना नेताहरूको प्रतिस्पर्धामा युवा पुस्ताको आवाज बनेर उभिएका छन् । रुपेशको चर्चाका कारण पूराना नेताहरूले चुनावी क्षेत्र परिवर्तन गर्ने समेतको प्रयास गर्न थालेका छन् ।
पाण्डेयले केवल भाषण वा प्रचारमा सीमित नरही, गाउँ, टोल, बजार र गल्लीसम्म पुगेर विकासका खाका कोर्न थालेका छन् । आधा महिना जनताको बीचमै बस्ने उनी जनताको दुस्ख सुखको सहयात्री बनिरहेका छन् । यसरी उनी स्थानीय समस्याको पहिचान गर्न, युवाहरू, किसानहरू, महिला र वृद्धहरूसँग छलफल गर्न गर्दै आएका छन् । उनको विश्वास छ, “अबको आवश्यकता नारावादी राजनीति होइन, योजनाबद्ध र परिणाममुखी नेतृत्व हो।”
पर्सा ३ को विकासका लागि रणनीतिक योजना बनाएर उनी लागिरहेका छन् । उनले पर्सा–३ भित्र पर्ने पोखरिया, पकाहा, महुवन र चीपुरजस्ता क्षेत्रहरूलाई व्यवस्थित र आधुनिक बनाउने स्पष्ट योजना अघि सारेका छन्। धार्मिक स्थल भाडा भगवानको संरक्षण र प्रवर्द्धनका साथै कृषिमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्य सेवा सहज पहुँचयोग्य बनाउने उनका मुख्य प्राथमिकतामा पर्दछन्।
रुपेशको समाजसेवामा निरन्तरता उनको लोकप्रियताको आधार बनेको छ। मानिकपुर निवासी उनी विगत केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छन् । व्यावहारिक दृष्टिकोणले समस्याको समाधान खोज्ने शैलीका कारण उनले जनताको विश्वास जितेका छन्। उनी भन्छन्, “प्रतिनिधित्व अब पार्टीको अनुहारबाट होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनुपर्छ।”
उनको समर्थन किशोरदेखि वृद्धसम्म फैलिएको छ। युवाहरूलाई रोजगारीका अवसर दिने उनको योजनाले उनीहरूलाई आकर्षित गरेको छ भने वृद्धहरूले उनको सरल व्यवहार र सम्मानलाई मन पराएका छन्। महिलालाई आत्मनिर्भर बनाउने प्रतिबद्धताले पनि उनको समर्थन बढाएको छ।
मानिकपुरका एक किसान भन्छन्,“उहाँले हाम्रो गाउँको विकासका लागि जे योजना ल्याउनुभएको छ, त्यसले साँच्चिकै हामीलाई आशा दिएको छ। पाण्डेयले जनतालाई सुन्ने र समस्या बुझ्ने काम गरिरहेको बताउँदै ती किसानले भने, उहाँको नेतृत्वमा हामी सबैले भरोसा गर्न सक्छौं।”
हाल पर्सा जिल्लाबाट चार जना सांसद, आठ जना प्रदेशसभा सदस्य र पाँच जना मन्त्री भइसकेका छन्, तर अपेक्षित विकास हुन नसकेको उनी बताउँछन्। “राजनीतिक प्रतिनिधित्व उच्च भए पनि विकासमा गति नआउनु विडम्बना हो,” उनी भन्छन्। पर्साको व्यापारिक, सामाजिक र भौगोलिक सम्भावनालाई व्यवहारमा उतार्न योजनाबद्ध नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
रुपेश पाण्डेले आफूलाई केवल सत्ता प्राप्तिका लागि होइन, सेवा र विकासका लागि प्रतिबद्ध नेता बनेर प्रस्तुत गरेका छन्। उनका समर्थकहरू भन्छन्, “पाण्डे अबको पुस्ताको नेता हुन्, जसले देखाउने होइन, गरेर देखाउने समय ल्याएका छन्।”
यदि जनताले उनलाई विश्वास गरेर अवसर दिए, पर्सा–३ मा युवापुस्ताको ऊर्जा र व्यावहारिक नेतृत्वमार्फत विकासको नयाँ युगको शुभारम्भ हुनेछ भन्ने विश्वास सो क्षेत्रका नागरिकले गर्न थालेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




