हैजाको महामारी पछि वीरगंजमा निःशुल्क भोजन शिविर पुनः सञ्चालन
अभिलाष गुप्ता
वीरगंज, ११ असोज । हैजाको महामारीका कारण करिब तीन हप्ता देखि बन्द रहेको निःशुल्क भोजन शिविर आजदेखि पुनः सञ्चालनमा आएको छ। वीरगंज समाज सेवाद्वारा सञ्चालित उक्त शिविर नारायणी अस्पताल परिसरमा आज विहानदेखि पुनः सुरु गरिएको हो।
शिविर हरेक शनिबार विहान ९ बजेदेखि सञ्चालन हुने गरेको छ। आजको कार्यक्रममा करिब ४५० देखि ५०० सर्वसाधारण, अस्पतालमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरू, रिक्साचालक, टेम्पो चालक, गरीब तथा असहाय व्यक्तिहरूले निःशुल्क भोजन ग्रहण गरेका थिए।
समाज सेवाका सचिव प्रकाश बाहेतीका अनुसार आजको भोजनमा भात, दाल, आलु, चनाको दाल, परवल मिक्स सब्जी, सलाद र हरियो खुर्सानीको व्यवस्था गरिएको थियो। समाज सेवाले यो भोजन शिविरको उद्देश्य अस्पतालमा उपचाररत बिरामी र उनका कुरुवाहरूलाई सहयोग पुर्याउनुका साथै दैनिक श्रमिक, निमुखा र असहाय व्यक्तिहरूलाई सस्तो तथा पौष्टिक खाना उपलब्ध गराउनु रहेको बताएको छ।
आजको शिविरमा वीरगंज समाज सेवा अध्यक्ष अशोक गुप्ता, सचिव प्रकाश बाहेती, सदस्यहरू अभिलाष गुप्ता, लालबाबू सिंह, राजेन्द्र भट्टराईलगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। उनीहरूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनकल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




