सही खबर, सही समयमा

निःशुल्क स्वास्थ्य शिविर पर्सागढीमा सम्पन्न : करिब ६ सयभन्दा बढी नागरिक लाभान्वित

ई-दैनिक जागरण
२०८२ कार्तिक ३०, आईतवार २१:४६

अभिलाष गुप्ता

वीरगंज, ३० कार्तिक । पर्सागढी नगरपालिकामा नेपाली सेनाले नेपाल–नेपाली नीति अनुसार विशेष रूपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजय दिवसको स्मरणमा पर्सागढीको ऐतिहासिक महत्व झल्किने क्षेत्रमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजित शिविरमा करिब ६ सयभन्दा बढी महिला, पुरुष तथा वृद्ध–वृद्धाले ओपीडी, अर्थोपेडिक, छाती तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले जानकारी दिनुभयो।

गाँउका अधिकांश नागरिक समयमै चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको प्रमुख कार्कीले बताए। उहाँका अनुसार जनता र सेनाबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा सेवा गाउँ–गाउँसम्म पुयाउने उद्देश्यले यस्ता शिविरहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?