सही खबर, सही समयमा

नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

ई-दैनिक जागरण
२०८२ मंसिर २६, शुक्रबार २०:१६

 वीरगंज, २६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु एक लाख घुुस रिसवत सहित पक्राउ गरेको थियो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले अनुसन्धानको सिलसिलामा नापी कार्यालयका सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्याय समेतको आपसी मिलेमतोमा तथा योजनामा  वीरगंज महानगर–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०००६४ वर्गमिटर जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख घुस माग गरी लिएको स्थापित भएको भन्दै भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?