अभिलाष गुप्ता
वीरगंज, १६ भदौ । बाढी–पहिरो प्रभावितका लागि जिल्ला प्रशासन कार्यालय पर्साले राहत संकलन केन्द्र स्थापना गरेको छ। केन्द्र स्थापना गर्दै प्रमुख जिल्ला अधिकारी भोला दहालले मन्त्रालयको निर्देशनअनुसार खाद्यान्न तथा लत्ताकपडा संकलन गर्न केन्द्र स्थापना गरिएको जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी दहालका अनुसार विनाशकारी बाढी–पहिरोका क्रममा पर्साबाट ४६ जना व्यक्ति सम्पर्कविहीन भएकोमा ६ जना सम्पर्कमा आएका छन्। अझै ४० जना सम्पर्कविहीन रहेको उनले बताए। सम्पर्कविहीन व्यक्तिका आफन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
उद्धार तथा राहत व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट २५ जना प्रहरी प्रभावित क्षेत्रमा खटाइएको दहालले जानकारी दिए।
उनका अनुसार हालसम्म राहत संकलन केन्द्रमा कुनै पनि राहत सामग्री प्राप्त भएको छैन। मंगलबारदेखि केन्द्रमार्फत राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाको नाम र उनीहरूले उपलब्ध गराउन चाहेको सामग्रीको विवरण संकलन गर्न थालिएको छ। मन्त्रालयबाट आवश्यक निर्देशन प्राप्त भएपछि संकलित सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइनेछ।
दहालले राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई जिल्ला प्रशासन कार्यालय पर्सामा स्थापना गरिएको राहत संकलन केन्द्रमा सम्पर्क गरी आफ्नो नाम तथा उपलब्ध गराउन चाहेको सामग्रीको विवरण टिपाउन अनुरोध गरेका छन्।
नगद सहयोग गर्न चाहने व्यक्तिहरूले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ। राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन एकद्वार प्रणालीमार्फत सहयोग संकलन तथा परिचालन गरिने प्रशासनले जनाएको छ।

