अभिलाष गुप्ता
वीरगंज, १२ असोज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई स्थानमा संयुक्त अनुगमन गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्चको लिखित उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा मापदण्ड, कागजात तथा सरसफाइसम्बन्धी कमजोरी देखिएपछि दुई उद्योगलाई गरी २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले वीरगंजस्थि महावीर एग्रो प्रोडक्ट प्रालिमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा आवश्यक कागजात तथा व्यवस्थापनसम्बन्धी विषयमा कमजोरी देखिएपछि उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो। साथै, उद्योगलाई तीन दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
त्यसैगरी, वीरगंज महानगरपालिका–१० आदर्शनगर स्थित स्विट मार्ट फुड प्रालिमा गरिएको अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नभएको पाइएको थियो। अनुगमन टोलीले उत्पादन स्थलमा आवश्यक सरसफाइ कायम गर्न निर्देशन दिँदै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
स्विट मार्ट फुड प्रालिलाई उत्पादन स्थल तथा आसपासको क्षेत्रको सरसफाइमा सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नसमेत निर्देशन दिइएको छ।
यसैबीच, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारीले महावीर एग्रो प्रोडक्ट प्रालिको उत्पादनमा उपभोक्तालाई झुक्यानमा पार्ने किसिमको भ्रामक विज्ञापन गरिएको भन्दै मञ्चले लिखित उजुरी दिएको बताएका छन्। उनका अनुसार उपभोक्तालाई भ्रममा पार्ने गरी विज्ञापन तथा उत्पादन र बिक्री वितरण गरिएको विषयमा केवल सामान्य जरिवाना गरेर उन्मुक्ति दिन नहुने मञ्चको धारणा छ।
अधिकारीले यस्ता विषयलाई उपभोक्ता हित संरक्षण मञ्चले गम्भीरतापूर्वक हेरिरहेको बताउँदै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ तथा विज्ञापन सम्बन्धी कानुनअनुसार आवश्यक कारबाही गर्न माग गरिएको बताए।
उनले भ्रामक विज्ञापनमार्फत उत्पादन तथा बिक्री वितरण गरिएका वस्तुको बिक्री तत्काल रोक्न र देशभरका बजारमा पठाइएका त्यस्ता चामलका सिलप्याक बोरा आवश्यक छानबिन गरी फिर्ता गराउन प्रशासनसँग माग गरिएको बताए। यस्ता गतिविधिमाथि प्रभावकारी कारबाही हुन सके भविष्यमा अन्य व्यवसायीले समेत उपभोक्तामाथि यस्तै किसिमको खेलवाड गर्न निरुत्साहित हुने मञ्चको भनाइ छ।
उपभोक्ताको स्वास्थ्य, अधिकार तथा खाद्यवस्तुको गुणस्तरलाई ध्यानमा राख्दै बजार तथा उद्योगहरूको नियमित अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायी तथा उद्योग सञ्चालकलाई आवश्यक निर्देशनसमेत दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की, रामप्रसाद लम्साल, आनुतोष कुशवाहा, श्रवणकुमार साह, उपभोक्ता हित संरक्षण मञ्चका प्रकाशकुमार शाह तथा सञ्चारकर्मी अभिलाष गुप्तालगायतको सहभागिता रहेको थियो।

