राजन सिंह
वीरगंज, १४ असाेज । वीरगंजस्थित चावो सती मन्दिरमा श्रद्धालु तथा सर्वसाधारणलाई लक्षित गरी अतिथि सदन र ब्यांक्वेट सुविधाको विस्तार गरिएको छ। विभिन्न धार्मिक, पारिवारिक तथा सामाजिक कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन मन्दिर परिसरमा आधुनिक सुविधाहरू थप गरिएको हो।
विस्तारित सुविधाअन्तर्गत सुविधासम्पन्न अतिथि कक्ष, वातानुकूलित ब्यांक्वेट हल तथा कोठा, पर्याप्त पार्किङ, क्याटरिङ सेवा र आधुनिक शौचालयको व्यवस्था गरिएको छ। त्यसैगरी, सेवाग्राहीको सहजताका लागि लिफ्ट तथा सुरक्षालाई ध्यानमा राख्दै २४ घण्टा सुरक्षा र सीसीटीभी निगरानीको प्रबन्धसमेत गरिएको छ।
चावो सती मन्दिर परिसरमा अब विवाह, पूजापाठ, जन्मदिन, बैठक, पारिवारिक भेटघाट तथा विभिन्न सामाजिक समारोह आयोजना गर्न सकिने सुविधा उपलब्ध भएको छ। यसले धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने श्रद्धालु र सेवाग्राहीलाई एकै स्थानमा आवश्यक सुविधा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

