19 October ,2026,Monday

छोरीहरूको सुरक्षा, शिक्षा र सम्मान धार्मिक अनुष्ठानमा मात्र सीमित नरही सामाजिक व्यवहारमा पनि देखिनुपर्छ : मेनका गुप्ता

महानवमीमा भारत विकास परिषदद्वारा कन्या पूजा, ४० बालिकालाई शैक्षिक सामग्री र उपहार प्रदान गरी सम्मान

रक्सौल, ०२ असाेज । शारदीय नवरात्रको महानवमीका अवसरमा भारत विकास परिषद्, रक्सौल शाखाको आयोजनामा सोमबार कोइरिया टोलस्थित शिवनारायण कम्प्लेक्समा कन्या पूजा, कन्या सम्मान तथा संस्कार समारोह आयोजना गरियो। उक्त अवसरमा ४० जना बालिकाको विधिपूर्वक पूजा गरी उनीहरूलाई भोजनप्रसाद, शैक्षिक सामग्री, नरिवल तथा उपयोगी उपहार प्रदान गरियो। कार्यक्रममार्फत बालिका शिक्षा, नारी सम्मान र छोरीहरूको संरक्षणको सन्देश दिइयो।

परिषद्की महिला सहभागिता प्रमुख मेनका गुप्ताको नेतृत्वमा आयोजित समारोहमा बालिकाहरूको चरण पखालेर पूजा तथा शृङ्गार गरिएको थियो। वैदिक मन्त्र उच्चारणका बीच माता दुर्गाको आराधना र आरतीपछि बालिकाहरूलाई भोजनप्रसाद खुवाउनुका साथै उपहार प्रदान गरी सम्मान गरिएको थियो। पूजा तथा आराधनामा शाखा अध्यक्ष रजनीश प्रियदर्शी, कोषाध्यक्ष सुनील कुमार, सीमा गुप्ता, किरण जायसवाल, मेनका गुप्ता, पूनम सर्राफ, डा. अदिति गुप्ता र शाम्भवी जायसवाल सहभागी भएका थिए।

यस अवसरमा शाखा अध्यक्ष रजनीश प्रियदर्शी र सचिव नरेश कुमारले बालिकाहरू समाज र राष्ट्रका बलिया आधारस्तम्भ भएको बताए। उनीहरू शक्तिस्वरूपा रहेको उल्लेख गर्दै बालिकाहरूलाई गुणस्तरीय शिक्षा, असल संस्कार र स्वास्थ्य सेवा उपलब्ध गराउनु समाजको साझा जिम्मेवारी भएको बताए। छोरीहरूलाई समान अवसर र सम्मान दिएर मात्र शिक्षित, संस्कारी र सशक्त भारत निर्माण गर्न सकिने उनीहरूको भनाइ थियो।

महिला सहभागिता प्रमुख मेनका गुप्ताले भारतीय संस्कृतिमा नारीलाई शक्तिस्वरूपा मानिएको बताउँदै नवरात्रमा कन्या पूजाको विशेष महत्त्व रहेको उल्लेख गरिन्। तर, छोरीहरूप्रतिको सम्मान धार्मिक अनुष्ठानमा मात्र सीमित नरही दैनिक व्यवहारमा पनि देखिनुपर्ने उनको भनाइ थियो। कन्या भ्रूण हत्या, यौन शोषण र दाइजोका कारण हुने उत्पीडनजस्ता सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उनले बताइन्।उनले भनिन्, “छोरी बचाऔँ, तभी सृष्टि बच्छ; छोरी छन् भने भोलि छ।” छोरीहरूको सुरक्षा, शिक्षा र सम्मान सुनिश्चित गर्नु प्रत्येक नागरिकको दायित्व भएको उनले जोड दिइन्।

परिषद्का संस्कार संयोजक नीतेश कुमार सिंह र सङ्गठन सचिव अजय कुमारले संयुक्त रूपमा जानकारी दिँदै परिषद्को विद्या विकास अभियानअन्तर्गत ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ अभियानलाई व्यवहारमा उतार्ने उद्देश्यले पछिल्ला दिनहरूमा रक्सौल अनुमण्डलका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बताए। बालिकाहरूलाई शिक्षाप्रति प्रोत्साहित गर्नु र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउनु यस अभियानको मुख्य उद्देश्य रहेको उनीहरूले बताए।

परिषद्का सेवा संयोजक तथा सञ्चार प्रभारी बिमल कुमार सर्राफ र विजय कुमार साहले भारत सरकारको ‘रक्तअल्पतामुक्त भारत अभियान’लाई प्रभावकारी बनाउन रक्सौल शाखाले प्राथमिक स्वास्थ्य केन्द्रको सहयोगमा सहरका विभिन्न विद्यालय, विशेषगरी सरकारी विद्यालयहरूमा निःशुल्क रक्तअल्पता परीक्षण शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए। शिविरमा छात्राहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक चिकित्सकीय परामर्श र आवश्यकताअनुसार औषधि उपलब्ध गराउने पहल गरिने उनीहरूले बताए।

कार्यक्रममा मेनका गुप्ता, सीमा गुप्ता, किरण जायसवाल, पूनम सर्राफ, डा. अदिति गुप्ता, शाम्भवी जायसवाल, सुनील कुमार, नीतेश कुमार सिंह, प्रशान्त कुमार, अजय कुमार, विजय कुमार साह, अरविन्द जायसवाल, सुरेश धानोठिया, विनोद कुमार र दिनेश प्रसादलगायत परिषद्का अन्य सदस्यहरूले सराहनीय योगदान दिएका थिए।

कार्यक्रमसम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...