अभिलाष गुप्ता
वीरगंज, ४ मंसिर । मानव अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै नागरिकलाई आफ्ना मौलिक तथा मानव अधिकारबारे जानकारी गराउने उद्देश्यले वीरगंजमा मानव अधिकार शिक्षा (HRE) तथा ‘राइट्स फर राइट्स’ (W4R) कार्यक्रम सम्पन्न भएको छ।
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह १६, वीरगंजकाे आयोजनामा शुक्रबार (२० नोभेम्बर २०२६) दिउँसो १ बजेदेखि हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्सको भवनमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रशिक्षक रजनीश झाले सहभागीहरूलाई मानव अधिकार, मौलिक अधिकार, यौन उत्पीडन तथा ‘राइट्स फर राइट्स’ अभियानका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा ल्यापटप तथा विभिन्न डिजिटल माध्यमको प्रयोग गरी मानव अधिकार सम्बन्धी विषयवस्तु प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई मानव अधिकारको महत्त्व, अधिकारको संरक्षण तथा अधिकार उल्लङ्घनविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको थियो।
कार्यक्रममा मानव अधिकारसँग सम्बन्धित प्रतिनिधि तथा एम्नेस्टी इन्टरनेसनलका सदस्यहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा करिब ४० जना सदस्यहरूको सहभागिता रहेको थियो।
मानव अधिकारप्रति नागरिकको चेतना अभिवृद्धि गर्नुका साथै अधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिकको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

