अभिलाष गुप्ता
वीरगंज, १३ कार्तिक । नेसनल प्याब्सनको विशेष अधिवेशन भोलि (शनिबार) चितवनको सौराहामा निर्धारित समयमै सम्पन्न हुने भएको छ। केही पक्षबाट विशेष अधिवेशन स्थगित भएको भन्दै विभिन्न भ्रमपूर्ण समाचार तथा सूचनाहरू सार्वजनिक भएपछि केन्द्रीय कार्यालयले त्यसप्रति ध्यानाकर्षण गराउँदै अधिवेशन निर्धारित समयमै हुने आधिकारिक जानकारी गराएको छ।
संस्थाको एकता, निरन्तरता तथा संस्थागत हितलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालयले सम्पूर्ण सदस्य विद्यालयहरूलाई विशेष अधिवेशनमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।
गृह मन्त्रालयले नेसनल प्याब्सनलाई समयमै विशेष अधिवेशन सम्पन्न गरी आवश्यक सम्पूर्ण कागजात तथा विवरण पेस गर्न निर्देशन दिएको थियो। तर निर्धारित समयभित्र विशेष अधिवेशन सम्पन्न गरी आवश्यक कागजात बुझाउन नसकेपछि मन्त्रालयबाट केही समयका लागि संस्थाको निलम्बनसम्बन्धी सूचना जारी भएको जनाइएको छ।
यसै सन्दर्भमा भोलि सौराहामा विशेष अधिवेशन सम्पन्न गरी त्यसको प्रमाणसहित आवश्यक सम्पूर्ण कागजात तथा विवरण गृह मन्त्रालयमा पेस गर्ने तयारी गरिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि संस्थामाथि लगाइएको निलम्बन फुकुवा हुने र गीता रानाको नेतृत्वमा नेसनल प्याब्सनले संस्थागत गतिविधिलाई निरन्तरता पाउने विश्वास संस्थाका पदाधिकारीहरूले व्यक्त गरेका छन्।
विशेष अधिवेशनलाई संस्थाको आगामी कार्यदिशा, सांगठनिक एकता र संस्थागत निरन्तरताका दृष्टिले महत्वपूर्ण मानिएको छ। अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण सदस्य विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
यसैबीच, केही पक्षबाट विशेष अधिवेशन स्थगित भएको भन्दै फैलाइएका विभिन्न भ्रमपूर्ण समाचार तथा सूचनाप्रति केन्द्रीय कार्यालयले स्पष्ट पार्दै अधिवेशन स्थगित नभएको जनाएको छ। केन्द्रीय कार्यालयका अनुसार भोलि हुने विशेष अधिवेशन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सम्पन्न हुनेछ।
संस्थाको वर्तमान अवस्थालाई सहज बनाउँदै आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न विशेष अधिवेशन महत्वपूर्ण हुने भएकाले भ्रमपूर्ण प्रचारको पछि नलाग्न सदस्य विद्यालयहरूलाई आग्रह गरिएको छ।
नेसनल प्याब्सनको संस्थागत एकता, नेतृत्वको निरन्तरता र शैक्षिक क्षेत्रको साझा हितका लागि सबै सदस्य विद्यालय एकजुट हुनुपर्नेमा जोड दिँदै केन्द्रीय कार्यालयले भोलि सौराहामा हुने विशेष अधिवेशनमा अनिवार्य उपस्थिति जनाउन हार्दिक अनुरोध गरेको छ।
गृह मन्त्रालयकै निर्देशनमा विशेष अधिवेशन भोलि (शनिबार) चितवनको सौराहामा सम्पन्न हुने भएकोले केन्द्रीय कार्यालयले सम्पूर्ण सदस्य विद्यालयहरूलाई विशेष अधिवेशनमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
विशेष अधिवेशनबाट आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयमा कागजात पेस गरेपछि संस्थाका गतिविधि पुनः नियमित रूपमा सञ्चालन हुने र संगठन थप व्यवस्थित तथा सुदृढ बन्ने अपेक्षा गरिएको छ।

