वीरगंज, २४ कार्तिक । नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा वीरगंजमा न्हूदँया भिन्तुना तथा म्हः पूजा हर्षोल्लास र उत्साहका साथ मनाइएको छ। नेवाः देय् दबू पर्साको आयोजनामा मंगलबार विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना र्याली आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको हो।
वीरगंजस्थित राष्ट्रिय विभूति शंखधर साख्वा पार्कबाट सुरु भएको शुभकामना र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। र्यालीमा नेवार समुदायका अगुवा, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला, युवा तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
‘भाषा, संस्कृति र पुर्खाको गौरव, नेपाल संवत् राष्ट्रिय गौरव’ भन्ने नारासहित आयोजित कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरण गर्दै उहाँको प्रतिमामा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्री प्रदीप यादव, वीरगंज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्साका पूर्वउपाध्यक्ष युवराज खड्कालगायत विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा युवा समाजसेवी सुधीर पटेलको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक पहिचान र ऐतिहासिक गौरव भएको बताएका थिए। नेपाल संवत्को संरक्षण, प्रवर्द्धन र व्यापक प्रचारप्रसारमा सबैको साझा दायित्व रहेको उनीहरूको भनाइ थियो।
वक्ताहरूले देशको मौलिक भाषा, कला, संस्कृति, भेषभूषा र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा विशेष जोड दिएका थिए। नेपाल संवत् र म्हः पूजाले आत्मसम्मान, आपसी सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो।
नेवाः देय् दबू पर्साका अध्यक्ष सुन्दर लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी, महिला, युवा तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा देशभर विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्। वीरगंजमा आयोजित न्हूदँया भिन्तुना र म्हः पूजा कार्यक्रमले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र विविधताप्रतिको सम्मानलाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।

