वीरगंज, २७ कार्तिक । छठ पर्वलाई शान्तिपूर्ण, व्यवस्थित तथा सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले घडीअर्वा छठ पूजा व्यवस्थापन समिति र पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक सम्पन्न भएको छ।
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको सुरक्षा समितिका संयोजक मुन्ना साहको अध्यक्षतामा सम्पन्न बैठकमा छठ पर्वका अवसरमा घडीअर्वा पोखरीलगायत छठघाटहरूमा हुन सक्ने भक्तजनको भीड, सुरक्षा संवेदनशीलता, सरसफाइ तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले छठघाटहरूको सुरक्षा संवेदनशीलता र भक्तजनको चापलाई ध्यानमा राख्दै आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्ने, भीड व्यवस्थापन गर्ने तथा सुरक्षा निगरानी बढाउने आश्वासन दिएका थिए। उनले छठ पर्वलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय पूर्ण रूपमा सक्रिय रहने बताए।
बैठकमा श्रीजंग गणका प्रमुख सेनानी तथा गणपति लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति एसपी मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपनिर्देशक सन्तोष ढुंगेल, वीरगञ्ज वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी तथा ट्राफिक प्रहरी प्रमुख दीपेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानु, पूर्वअध्यक्षहरू, आयोजक घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह कानु, क्लबका पदाधिकारी तथा आयोजक सदस्य प्रभाकर गुप्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा सरसफाइ समितिका संयोजक शम्भु साह, अमिरी साह कानु, नेपाल रेडक्रस सोसाइटीका नगर सचिव प्रदीप गुप्ता, राजु साहलगायतले पनि छठघाटको सरसफाइ, प्राथमिक उपचार, स्वयंसेवक परिचालन तथा भक्तजनलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण निर्माण गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य घडीअर्वा स्पोर्ट्स क्लबका उपाध्यक्ष मनोहर साह कानुले गरेका थिए भने सञ्चालन क्लबका सचिव सन्तोष गुप्ताले गरेका थिए।
बैठकले छठ पर्वका अवसरमा घडीअर्वा पोखरी क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकाय, आयोजक समिति तथा स्वयंसेवकबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिएको छ। साथै भक्तजनको आवागमन सहज बनाउने, भीड नियन्त्रण गर्ने, सरसफाइ कायम राख्ने तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन मिलाउने विषयमा छलफल भएको थियो।

