अभिलाष गुप्ता
वीरगंंज, १३ मंसिर । प्रहरीको वर्दी लगाउनु केवल कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बहन गर्नु मात्र होइन, नागरिकको विश्वास जित्नु, अन्यायविरुद्ध उभिनु र समाजमा शान्तिसुरक्षाको अनुभूति दिलाउनु पनि हो। यही जिम्मेवारीलाई केन्द्रमा राखेर प्रहरी सेवामा सक्रिय प्रहरी निरीक्षक विक्रम सुवेदी पछिल्लो समय वीरगंजकाे सुरक्षा व्यवस्थापन र सामुदायिक प्रहरी गतिविधिमा सक्रिय देखिएका छन्।
वडा प्रहरी कार्यालय बिर्ताको प्रमुखको जिम्मेवारी सम्हालिरहेका सुवेदीले अपराध नियन्त्रणसँगै सामाजिक सचेतना, विद्यालयस्तरीय प्रशिक्षण, चाडपर्वको सुरक्षा व्यवस्थापन तथा स्थानीय समुदायसँगको समन्वयलाई प्राथमिकतामा राख्दै आएका छन्।
प्रहरी सेवामा विभिन्न स्थान र जिम्मेवारीको अनुभव बटुलेका सुवेदीको कार्यशैलीमा अनुशासन, जिम्मेवारीबोध र फिल्डमा सक्रिय रहने प्रवृत्ति देखिन्छ। प्रहरी कार्यालयमा आउने नागरिकका समस्या सुन्ने, स्थानीय समुदायसँग सम्पर्क बढाउने तथा सुरक्षा चुनौतीका विषयमा सरोकारवालासँग छलफल गर्ने गतिविधिमा उनी सक्रिय रहँदै आएका छन्।
वीरगंजजस्तो सीमावर्ती, व्यावसायिक तथा अत्यधिक चहलपहल हुने सहरमा प्रहरीको जिम्मेवारी सहज छैन। चोरी, तस्करी, लागूऔषध कारोबार, ठगी, सार्वजनिक अव्यवस्था तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न निरन्तर सक्रियता आवश्यक हुन्छ। यस्तो अवस्थामा प्रहरी र नागरिकबीच विश्वासको सम्बन्ध स्थापित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यस्ता चुनौतीपूर्ण सुरक्षा परिस्थितिमा प्रहरी निरीक्षक सुवेदीले फिल्डमा सक्रिय रहेर जिम्मेवारी निर्वाह गर्ने कार्यशैलीलाई प्राथमिकता दिँदै आएका छन्। अपराध नियन्त्रणमा प्रहरीको उपस्थिति प्रभावकारी बनाउने, सम्भावित आपराधिक गतिविधिमाथि निगरानी राख्ने र स्थानीयस्तरमा देखिने सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने प्रयासले वडा प्रहरी कार्यालय बिर्ताको गतिविधिलाई चर्चामा ल्याएको छ।
सुवेदीको कार्यशैलीको महत्त्वपूर्ण पक्ष अपराध भइसकेपछि मात्रै कारबाही गर्ने नभई अपराध हुन नदिन पूर्वसचेतना र निगरानीलाई समेत महत्त्व दिनु हो। विद्यालयमा पुगेर विद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध सचेत गराउने, स्थानीय संघसंस्थासँग सुरक्षा चुनौतीबारे छलफल गर्ने तथा चाडपर्वका बेला भिडभाड हुने स्थानमा सुरक्षा व्यवस्थापनका लागि समन्वय गर्ने गतिविधि यसका उदाहरण हुन्।
फरार कैदी सुनिल साह तुरहाको खोजी अभियानमा उनको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको घटनालाई पनि सुरक्षा चुनौतीप्रतिको सक्रियताको उदाहरणका रूपमा लिइएको छ।
त्यस्तै, वीरगंजमा लागूऔषध दुर्व्यसनको जोखिमलाई ध्यानमा राख्दै विभिन्न विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण प्रदान गरी युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने अभियानमा पनि उनले जोड दिँदै आएका छन्।
सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय क्लब, छठ पूजा व्यवस्थापन समिति तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्दै सुरक्षा व्यवस्थापनमा नागरिकको सहभागिता बढाउने प्रयाससमेत गरेका छन्।
स्थानीयस्तरमा हुने सानातिना विवाद, सार्वजनिक अव्यवस्था तथा सम्भावित आपराधिक गतिविधिलाई समयमै सम्बोधन गर्न प्रहरी र नागरिकबीच प्रत्यक्ष सम्पर्क आवश्यक हुन्छ। यसका लागि नागरिकले प्रहरीसमक्ष आफ्ना समस्या सहज रूपमा राख्न सक्ने वातावरण निर्माण गर्नु र प्रहरीलाई समुदायको पहुँचमा पुर्याउनु महत्त्वपूर्ण हुन्छ। सुवेदीको नेतृत्वमा सञ्चालन भएका सामुदायिक अन्तरक्रिया तथा सचेतनामूलक गतिविधि पनि यही उद्देश्यसँग जोडिएका छन्।
प्रहरी अधिकारीको वास्तविक पहिचान पक्राउको सङ्ख्या वा चर्चित कारबाहीले मात्र होइन, नागरिकलाई सुरक्षित महसुस गराउने व्यवहार, कानुन कार्यान्वयनमा निष्पक्षता र जिम्मेवारीप्रतिको प्रतिबद्धताले निर्धारण गर्छ। यही मान्यताअनुसार अपराध नियन्त्रणसँगै जनचेतना र सामुदायिक सहकार्यलाई जोड दिँदै अघि बढ्नु सुवेदीको नेतृत्वमा रहेको बिर्ता प्रहरीका लागि महत्त्वपूर्ण पक्ष बनेको छ।
यसैबीच, अपराध तथा गैरकानुनी गतिविधिविरुद्ध सक्रिय रूपमा प्रस्तुत हुँदै आएका प्रहरी निरीक्षक सुवेदी पछिल्लो समय वीरगञ्जको क्यासिनोमा गरिएको ठूलो प्रहरी कारबाहीका कारण पनि चर्चामा छन्। उनको नेतृत्वमा परिचालित प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० लोहापट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब (क्यासिनो) मा छापा मारेर १२ जनालाई नियन्त्रणमा लिएको थियो।
क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा मङ्सिर १० गते गरिएको उक्त कारबाहीका क्रममा नौ जना नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउन तथा जुवा खेलाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
एकैपटक १२ जनालाई नियन्त्रणमा लिने उक्त कारबाहीले क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेधसम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयनमा प्रहरीको सक्रियतालाई उजागर गरेको छ। वीरगञ्जमा क्यासिनो सञ्चालन तथा त्यससँग सम्बन्धित गतिविधिको नियमन र कानुन कार्यान्वयनका दृष्टिले पनि यस घटनालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
समग्रमा प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा वडा प्रहरी कार्यालय बिर्ताले अपराध नियन्त्रण, सामुदायिक सचेतना, नागरिकसँगको समन्वय र सुरक्षा व्यवस्थापनलाई एकसाथ अघि बढाउने प्रयास गरिरहेको छ। प्रहरीको प्रभावकारिता केवल कारबाहीमा मात्र नभई नागरिकको विश्वास र सुरक्षाको अनुभूतिमा पनि प्रतिबिम्बित हुने भएकाले आगामी दिनमा यस्ता गतिविधिले निरन्तरता पाउनु आवश्यक देखिन्छ।

