Author: admin

  • नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने ‘नटवरलाल’ प्रहरीको फन्दामा

    नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने ‘नटवरलाल’ प्रहरीको फन्दामा

    वीरगंज, २४ जेठ । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने एकजना ‘नटवरलाल’ मोतिहारी प्रहरीको फन्दामा परेका छन।

    मोतिहारी जिल्लाको सुगौली थाना क्षेत्रमा गोप्य सूचनाको आधारमा प्रहरीले त्वरित कारबाही गर्दै सम्भावित लुटको घटना समयमै विफल पारेको हो।

    सुगौली थानाध्यक्ष अनीश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले भटहां गाउँँमा छापा मारेर नितेश कुमार नामक आरोपीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका नितेशले आफूलाई प्रहरी अधिकारीको भेषमा प्रस्तुत गरी मानिसहरूलाई डर देखाउने र ठगी गर्ने गर्दथे।

    छापामारीको क्रममा उसको घरबाट २ स्टार लागेको प्रहरी वर्दी, टोपी, चक्कु र टर्च बरामद गरिएको छ। बरामद सामग्रीले उसको आपराधिक गतिविधि पुष्टि भएको प्रहरीको भनाइ छ। प्रारम्भिक सोधपुछमा नितेशले आफ्ना अन्य साथीहरूको वारेमा पनि खुलाएका छन। उसको बयानका आधारमा थप २ जना संदिग्धको नाम पनि सार्वजनिक भएको छ।
    यस घटनामा प्रहरीले ३ जनालाई नाम किटेर र ३ जनालाई अज्ञात राखेर मुद्दा दर्ता गरेको छ। फरार रहेका आरोपीलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पारेको छ।

    प्रहरीले दिएको जानकारी अनुसार नितेशको आपराधिक इतिहास पनि रहेको छ। ऊ यसअघि पटना भएको ३५ लाख रुपियाँँ ठगीको घटनामा समेत संलग्न रहेको अनुसन्धानमा खुलेको छ। यसबाट ऊ संगठित रूपमा अपराध गर्ने गिरोहको सदस्य रहेको देखिन्छ।

    आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नितेशलाई न्यायिक हिरासतमा मोतिहारी पठाइएको छ। मोतिहारीका एसपी स्वर्ण प्रभातले घटनाको गहन अनुसन्धान भइरहेको र फरार आरोपीलाई चाँडै पक्राउ गरिने बताए।
    प्रहरीले सर्वसाधारणलाई कुनै पनि व्यक्ति प्रहरीको नाम लिएर डर देखाएमा तुरून्त नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।

  • एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

    वीरगंज, २१ जेठ ।
    प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले घोषणा गर्नुभएको पुरस्कार कार्यक्रम अन्तर्गत पर्सा क्षेत्र नं. ४ का उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
    जीराभवानी गाउँपालिका अन्तर्गत रहेको श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित विशेष कार्यक्रममा सांसद शाक्यले एसईई परीक्षा २०८१ मा पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको हो।
    ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका छात्र अंशु खनाललाई रू. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। खनालले एसईई परीक्षा २०८१ मा ३.६६ जिपिए प्राप्त गर्दै पर्सा क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका थिए।
    त्यसैगरी  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जिपिए ३.२५), श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जिपिए ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जिपिए ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जिपिए ३.५५), श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जिपिए ३.२२) लाई जनही रू. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले शिक्षा नै राष्ट्रको विकास, समृद्धि र सामाजिक रूपान्तरणको प्रमुख आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई उच्च लक्ष्य निर्धारण गरी निरन्तर अध्ययनमा समर्पित हुन आग्रह गर्दै मेहनत, अनुशासन र लगनशीलताबाट सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
    उहाँले उत्कृष्ट प्रतिभाको सम्मान तथा प्रोत्साहनका लागि आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस प्रकारको सम्मानले विद्यार्थीहरूमा अध्ययनप्रति रूचि बढ्नुका साथै प्रतिस्पर्धात्मक भावना विकास गर्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
    विद्यालयका प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी परशुराम साह कानु, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
  • दिल्ली होटल आगलागी : २१ को मृत्यु

    दिल्ली होटल आगलागी : २१ को मृत्यु

    नयाँदिल्ली, २० जेठ  : भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरीले पुष्टि गरेको छ ।
    दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड–एन्ड–ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फस्न पुगेका थिए ।
    उद्धार तथा खोजी कार्य जारी रहँदा ४० भन्दा बढी घाइतेलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।
    अधिकारीहरूका अनुसार घटनापछि गहिरो दुःख व्यक्त गर्दै २१ जनालाई मृत घोषित गरिएको छ । प्रहरी र आपतकालीन सेवाका टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोजी तथा उद्धार कार्य भइरहेको छ ।
    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मृतकमध्ये धेरै अफ्रिकी मुलुकका आगन्तुकहरू रहेको अनुमान गरिएको छ । उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए । यद्यपि आधिकारिक रूपमा मृतकहरूको पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।
    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘दुःखद्’ भन्दै शोक व्यक्त गर्नुभएको छ । उहाँको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मृतकका परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
    आगलागीको कारणबारे प्रारम्भिक रूपमा कुनै ठोस निष्कर्ष नआएको प्रहरीले जनाएको छ । तर भारतमा यस्ता घटनाहरूको प्रमुख कारणमध्ये विद्युत् सर्ट सर्किट, पुरानो तथा कमजोर तारजडान र सुरक्षा मापदण्डको बेवास्ता प्रमुख रहेको बताइन्छ ।
    भारतमा भवन आगलागीका घटना बारम्बार हुने गरेका छन् । यसअघि मार्च महिनामा पूर्वी भारतको एक सरकारी अस्पतालमा भएको आगलागीमा पनि कम्तीमा १० जना गम्भीर बिरामीको मृत्यु भएको थियो, जसले देशको भवन सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ ।
    दिल्लीको यो पछिल्लो घटनाले होटल तथा आवासीय भवनहरूको सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता फेरि उजागर गरेको छ, जसले ठूलो मानवीय क्षति रोक्न सकिने अपेक्षा गरिएको छ ।
  • भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

    भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

    काठमाडौँ, २० जेठ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

    भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ । साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।

    प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक उल्लेख गर्नुभएको छ ।

    भेटका अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी ९भाजपा०बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो ।

    त्यस अवसरमा भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उहाँकी धर्मपत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूताबासका उच्च अधिकारीको पनि सहभागिता थियो ।

    भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लमिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । यसबीचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा जयशङ्कर, भाजपाका अध्यक्ष नवीनलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

  • मधेसको वन संरक्षणलाई प्राथमिकता दिँदै योजना तर्जुमा गर्नुपर्नेमा जोड

    धनुषा, १८ जेठः मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले वन संरक्षण, वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभएको छ ।
    वन तथा वातावरण मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित आर्थिक वर्ष २०८३/८४ को योजना तर्जुमा गोष्ठी कार्यक्रममा मन्त्री चौधरीले वन क्षेत्रको दिगो व्यवस्थापन, हरित विकास तथा वातावरण संरक्षणलाई केन्द्रमा राखेर जनमुखी योजना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रदेशको जैविक विविधता संरक्षण, वनजन्य स्रोतको सदुपयोग तथा वातावरणीय जोखिम न्यूनीकरणका कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।
    मन्त्री चौधरीले वन तथा वातावरण क्षेत्रको विकासले कृषि, पर्यटन तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै स्थानीय तह, सरोकार भएका निकायका प्रतिनिधि तथा समुदायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले वन विनाश, प्रदूषण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि दीर्घकालीन सोचसहित योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
    सो अवसरमा मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशको आर्थिक क्षमता र आवश्यकतालाई मध्यनजर गर्दै परिणाममुखी तथा प्रभावकारी योजना छनोट गर्नुपर्ने बताउनुभयो । उहाँले सीमित स्रोत–साधनको अधिकतम उपयोग हुनेगरी योजना निर्माण गर्नुपर्ने उल्लेख गर्दै वन तथा वातावरण संरक्षणका कार्यक्रमले दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो ।
    अर्थमन्त्री भट्टराईले प्रदेश सरकार विकास निर्माणसँगै वातावरणीय संरक्षणलाई समान महत्व दिइरहेको बताउँदै जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने जानकारी दिनुभयो । वन संरक्षण गरी वातावरणीय सन्तुलन गर्ने किसिमका कार्यक्रम आउने उहाँको भनाइ छ ।
    कार्यक्रममा मन्त्रालयका सचिव जीवनाथ पौडेलले आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम तर्जुमा गर्दा प्रदेशको आवश्यकता, उपलब्ध स्रोत र दीर्घकालीन विकास लक्ष्यबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वन तथा वातावरण क्षेत्रका विद्यमान चुनौती तथा सम्भावनालाई ध्यानमा राखी व्यावहारिक र कार्यान्वयनयोग्य योजना तयार पार्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।रासस
    वन निर्देशनालयका निर्देशक जगरनाथप्रसाद जैसवालले वन संरक्षण, वृक्षरोपण, जैविक विविधता संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई आगामी वर्ष थप प्रभावकारी ढङ्गले सञ्चालन गरिने बताउनुभयो । उहाँले वन क्षेत्रको उत्पादकत्व वृद्धि, हरित क्षेत्र विस्तार तथा सामुदायिक वनको सुदृढीकरणका लागि आवश्यक कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
    गोष्ठीमा मन्त्रालय मातहतका कार्यालय प्रमुख, प्राविधिक कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता  थियो । सहभागीले वन तथा वातावरण क्षेत्रको दिगो विकास, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोत संरक्षण तथा हरित अर्थतन्त्र प्रवद्र्धनसम्बन्धी विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । मन्त्रालयले गोष्ठीबाट प्राप्त सुझावलाई समेटेर आगामी आव २०८३/८४ का नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्ने जनाएको छ ।
  • श्रीमतीको हत्या गरी फरार भएका रामनारायण पक्राउ

    श्रीमतीको हत्या गरी फरार भएका रामनारायण पक्राउ

    वीरगंज, १७ जेठ ।
    वीरगंजमा आफ्नै श्रीमतीको क्रूरतापूर्वक हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

    महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ७ घर भइ हाल वीरगंज महानगरपालिका वडा नं. १० बजरंग टोल बस्ने ४५ वर्षीय रामनारायण दास तत्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    प्रहरीका अनुसार गत जेठ १४ गते बेलुकी करिब ७ः१० बजेको समयमा रामनारायणले मादक पदार्थ (मदिरा) सेवन गरी आफ्नी ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीलाई फलामको गलले टाउको लगायत शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या गरेलगत्तै उनी फरार भएका थिए।

    घटनापश्चात जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले प्राविधिक तथा स्थलगत अनुसन्धान शुरू गरेको थियो। त्यसै क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वय र सहयोगमा जेठ १६ गते दिउँसो करिब १२ः०० बजेको समयमा उनलाई महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ७ स्थित लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

    पक्राउ परेका रामनारायण दास तत्मामाथि कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर) मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।

  • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

    विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

    काठमाडौँ, १७ जेठः प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री शाहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालको प्रश्नको जवाफ दिँदै उहाँले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा व्यापार, निर्यात गर्ने वस्तुमा लाग्ने कर छुटलगायत विषयमा पनि ध्यान दिनुपर्ने र नेपाल अब निर्यातमुखी हुनुपर्ने सोचसहित स्तरोन्नतिलाई केही वर्ष पछि सार्न भनिएको बताउनुभयो ।

    “देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्नका लागि दुई वर्षका लागि त्यसलाई पछि सारेका हौँ । हाल आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई ठूलो रकम चाहिएको छ । हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “साम्यवाद, समाजवाद भाषणमा दिन सहज हुन्छ । साँच्चिकै समाजवाद र साम्यवादको कुरामा म काठमाडौँ महानगरपालिकामा प्रमुख हुँदाको उदाहरण दिन चाहन्छु । हामीले विपन्नलाई निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ भनेर त्यसलाई परीक्षा लिएरै लागू गरेका थियौँ । त्यहाँ विपन्न नागरिकका सन्ततिले पनि महँगा कलेजमा पढ्न पाए । समाजवाद भनेको त्यो हो ।”

    उहाँले शिक्षा र स्वास्थ्यमा विपन्नलाई १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने नीतिलाई आफूहरूले देशैभर लागू गर्न खोजीरहेको अवगत गराउनुभयो । प्रधानमन्त्री शाहले संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्य भनेर लेखिए पनि सरकारको बजेट सीमाबीच कम्तिमा विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी लागेको स्पष्ट गर्नुभयो ।

  • वीरगंजबाट ५ थान चोरीको साइकलसहित लाल महम्द अन्सारी पक्राउ

    वीरगंजबाट ५ थान चोरीको साइकलसहित लाल महम्द अन्सारी पक्राउ

    वीरगंज, १७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका पाँच थान साइकलसहित एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीले वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने २६ वर्षीय लाल महम्द अन्सारीलाई चोरीका साइकलसहित नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार गत जेठ १३ गते दिउँसो करिब ४ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १५ एनएमसी भित्रबाट बाराको प्रसौनी गाउँँपालिका वडा नं. ५ प्रस्टोका बस्ने २२ वर्षीय बिशाल साहको साइकल चोरी भएको थियो। साहले आफ्नो साइकल पार्किङ गरी राखेको स्थानबाट हराएपछि खोजतलासका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा निवेदन दिएका थिए।

    निवेदन परेलगत्तै खटिएको प्रहरी टोलीले उक्त क्षेत्रको सीसीटीभी फुटेजको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा जेठ १६ गते राति १०ः३० बजेको समयमा चोरीमा संलग्न अन्सारीलाई फेला पारेको थियो।

    पक्राउ पर्ने समयमा अन्सारीको साथबाट बिशाल साहको चोरी भएको साइकलसहित अन्य विभिन्न स्थानबाट चोरी गरिएका थप ४ थान गरी जम्मा ५ थान साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।

    साइकलसहित नियन्त्रणमा लिइएका अन्सारीमाथि चोरी सम्बन्धी कसूरमा हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • बजेट २०८३/८४ः कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव

    बजेट २०८३/८४ः कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव

    काठमाडौँ, १५ जेठ : सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राजस्वका क्षेत्रमा विभिन्न सुधारका योजना तथा कार्यक्रम अघि सारेको छ ।

    सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणाली, राजस्व प्रशासन, भन्सार सुधार, लगानी प्रोत्साहन तथा ‘डिजिटल’ अर्थतन्त्र विस्तारलाई केन्द्रमा राखेर व्यापक नीतिगत परिवर्तनको घोषणा गर्नुभयो ।

    व्यवसायमैत्री कर नीति, सरल र स्पष्ट कर कानुन, स्वैच्छिक कर सहभागिता तथा प्रविधिमैत्री कर प्रशासनमार्फत आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले परम्परागत राजस्व संरचनामा उल्लेखनीय पुनःसंरचना गर्ने देखिएको छ ।

    अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोडेर औपचारिक अर्थतन्त्र विस्तार गर्ने नीति लिइएको बताउनुभयो । बजेट वक्तव्यअनुसार स्वचालित, प्रविधिमैत्री, सदाचारयुक्त र उत्प्रेरित कर प्रशासन विकास गरी स्वैच्छिक कर सहभागिताबाट राजस्व वृद्धि गरिनेछ । लागत परिपूरण तथा तिर्नसक्ने क्षमताका आधारमा गैरकर राजस्व परिचालन गरिने नीति पनि बजेटले अघि सारेको छ ।

    सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रको नयाँ आर्थिक इन्जिन’ का रूपमा स्थापित गर्ने घोषणा गर्दै सरकारले सूचना प्रविधि सेवाको निर्यातबाट आर्जित आम्दानीमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेको छ ।

    यसैगरी, बजेट वक्तव्यमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने ‘स्वेट इक्विटी’ रकमलाई करयोग्य आय गणनाबाट शतप्रतिशत छुट दिने व्यवस्था गरिएको छ । यसलाई ‘स्टार्टअप’, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमलाई आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

    स्वदेशी उत्पादन प्रवद्र्धनका लागि नेपालभित्र उत्पादन हुने केही वस्तुमा ‘डोमेस्टिक प्रडक्ट प्रमोसन फी’ लगाउने घोषणा गरिएको छ । नाफा कमाउने उद्देश्य नराखी स्थापना भएका मित्रराष्ट्रका पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरिएको छ । महानगरपालिका र उपमहानगरपालिका बाहिर नयाँ चलचित्र हल स्थापना गर्नेलाई पहिलो १० वर्षसम्म पूर्ण आयकर छुट दिने नीति ल्याइएको छ ।

    दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा)अन्तर्गत रहेको संवेदनशील सूची पुनरावलोकन गरिने घोषणा गर्दै सरकारले व्यापार नीतिमा पनि परिवर्तन सङ्केत गरेको छ ।

    शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्न दुर्गम क्षेत्रमा पूर्वाधार निर्माण र सेवा विस्तारमा सहयोग पुग्ने गरी निजी क्षेत्रबाट सञ्चालित शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरको समता शुल्क लगाइने भएको छ ।

    ऊर्जा क्षेत्रमा अन्तिम उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाइने व्यवस्था गरिएको छ ।

    विद्युतीय सवारीसाधनमा हाल ‘पिक पावर’ क्षमताका आधारमा लाग्दै आएको भन्सार महसुल अब मूल्यगत आधारमा निर्धारण हुनेछ । साथै, विद्युतीय सवारीको स्वदेशी उत्पादन, ‘चार्जिङ स्टेसन’ निर्माण तथा ‘ब्याट्री’ व्यवस्थापनका लागि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ अर्थात् ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी’ लगाइने भएको छ ।

    मदिरा उद्योगतर्फ नेपाली ‘ब्रान्ड’का मदिराको निर्यात प्रवद्र्धन गर्न ‘गुड स्पिरिट’ उत्पादन र ‘मेचुरेसन’ प्रक्रियालाई प्रोत्साहन गरिनेछ । आगामी आवदेखि ‘माइक्रो ब्रुअरी’लाई मदिरा उद्योगका रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याइने बजेट वक्तव्यमा उल्लेख छ ।

    सुर्तीजन्य वस्तुमा करिब १० प्रतिशतसम्म कर वृद्धि गरिएको छ भने मदिरा तथा ‘बियर’मा लाग्ने अन्तःशुल्क बढाइएको छ ।

    राजस्व प्रशासन सुधारतर्फ सरकारले ठूलो संरचनात्मक परिवर्तनको घोषणा गरेको छ । राजस्व अनुसन्धान विभाग खारेज गरी त्यसले गर्दै आएका काम विषयगत निकायमार्फत सञ्चालन गरिने जनाइएको छ ।

    वार्षिक रु १० करोडभन्दा बढी कारोबार गर्ने र विद्युतीय बीजक जारी गर्ने सबै व्यवसायलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा अनिवार्य आबद्ध गरिने जनाइएको छ । साना व्यवसायीलाई डिजिटल माध्यमबाट भुक्तानी लिन प्रोत्साहित गरिने भएको छ ।

    बजेटमा उल्लेख भएअनुसार कर परीक्षण अवधि तीन वर्ष कायम गरिएको छ भने जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बौद्धिकतासहितको ‘ई–असेसमेन्ट’ प्रणाली विकास गरिनेछ । डिजिटल अन्तःशुल्क टिकट सुरु गरिनेछ भने अन्तःशुल्क चुहावट रोक्न विद्युतीय ‘ट्याक एण्ड ट्रेस’ प्रणाली लागू गरिने भएको छ ।

    भौतिक नियन्त्रणमा आधारित अन्तःशुल्क प्रशासनलाई क्रमशः स्वयं निष्काशन प्रणालीमा रूपान्तरण गर्ने नीति सरकारले बजेटमार्फत लिएको छ ।

    ‘पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस’ राजस्व प्रशासन निर्माण गर्ने घोषणा गर्दै अर्थमन्त्री डा वाग्लेले कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिनेलगायत सेवा पूर्णतः स्वचालित बनाइने बताउनुभयो । कर्मचारीको मनोबल बढाई राजस्व परिचालन सुधार गर्न कार्यसम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

    स्थानीय तहमा देखिएको बहुकर प्रणाली नियन्त्रण गर्न एक स्थानबाट अर्को स्थानमा वस्तु ढुवानी गर्दा विभिन्न स्थानीय तहले लगाउने निकासी शुल्क, कौडी करलगायत बहुकर अब लिन नपाइने व्यवस्था बजेटमा गरिएको छ । प्रदेश र स्थानीय तहको कर तिर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिने भएको छ ।

    व्यापार सहजीकरणका लागि ‘अथोराइज्ड बिजनेस पर्सन’ अवधारणा ल्याउने सरकारले बजेटमार्फत घोषणा गरेको छ । यसअन्तर्गत योग्य व्यवसायीले भन्सारमा ‘ब्लु लेन’मार्फत छिटो जाँचपास सुविधा पाउनेछन् । कारोबार मूल्यमा आधारित ‘अनलाइन’ भन्सार जाँचपास प्रणालीलाई पारदर्शी र यथार्थपरक बनाइनेछ भने भन्सार जाँचपछिको परीक्षण कार्यालय पुनःसंरचना गरिने भएको छ ।

    पर्यटन सहजीकरणतर्फ स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सबै मूल भन्सार कार्यालयबाट सवारीसाधनको अस्थायी पैठारी घोषणा र शुल्क भुक्तानी अनलाइनमार्फत गर्न सकिने व्यवस्था बजेटमा गरिएको छ । वैवाहिक पर्यटन प्रवद्र्धनका लागि विवाह प्रयोजनमा ल्याइने सामानको धरौटी प्रणालीलाई स्वचालित बनाइने तथा पर्यटकलाई कानुनबमोजिम तोकिएको सीमाभित्र विदेशी मुद्रा ल्याउन सहज व्यवस्था गरिने जनाइएको छ ।

    सीमाक्षेत्रमा हुने चोरीपैठारी नियन्त्रणका लागि प्रविधिमैत्री निगरानी र संयुक्त बजार अनुगमन गरिने तथा अन्तरदेशीय भन्सार प्रशासनसँग वस्तु नेपाल आइपुग्नुअघि नै सूचना आदानप्रदान गर्ने व्यवस्था विस्तार गरिने बजेटमा उल्लेख छ ।

    कर छुट तथा सहुलियततर्फ कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगले आयात गर्ने कच्चापदार्थमा भन्सार महसुल छुट दिइएको छ । आवासीय भवन बिमामा अधिकतम रु १० हजारसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाइने व्यवस्था गरिएको छ । विकास निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने नीति ल्याइएको छ ।

    कृषि प्रशोधन उद्योगलाई पहिलो १० वर्ष पूर्ण आयकर छुट दिइने भएको छ भने ‘कोल्ड स्टोरेज’, ‘प्याकेजिङ तथा टेस्टिङ ल्याब्सका मेसिनरी’ उपकरण आयातमा मूल्य अभिवृद्धि कर छुट प्रदान गरिने भएको छ । नियमित रूपमा कर तिर्ने करदातालाई सम्मान, सहजीकरण र सरल कार्यप्रणालीमार्फत पुरस्कृत गर्ने नीति पनि बजेट वक्तव्यमा उल्लेख छ । हेमन्त जोशी/रासस

  • शिक्षाको महत्व बुझाउने ‘लालीबजार’

    शिक्षाको महत्व बुझाउने ‘लालीबजार’

    भेषराज कार्की/रासस
    काठमाडौँ, १५ जेठः नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ ।

    झट्ट नाम सुन्दा यो ‘पारिवारिक चलचित्र होइन’ की भन्ने पनि लाग्नसक्छ । नाममात्र होइन, चलचित्रको पहिलो सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का शृङ्गारिएर ढोकामा उभिनुभएको थियो । एउटी गर्भवती ढोकामा सजिएर बस्नुले कलात्मक रुपमा धेरै तथ्यलाई चित्रण गरेको थियो । यद्यपि, चलचित्र प्रदर्शन भएपछि यो पूर्ण रुपमा पारिवारिक चलचित्र रहेको भनी दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।

    यस वर्ष प्रदर्शन भएका चलचित्रको तुलनामा घरेलु बजारमा सर्वाधिक व्यापार गरेका कारण प्रदर्शनको चौथो सातामा पनि यो चलचित्र हर्ने दर्शकको भिडभाड उत्तिकै देखिन्छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शनिबारसम्म यसको व्यापार रु पाँच करोड ७६ लाख पुगिसकेको छ ।

    आमा र छोरीको कथामा चलचित्र केन्द्रित छ । शासकको शोषणलाई ‘प्रथा’ मानिरहेकी आमाले छोरीलाई शिक्षा दिलाउन गर्ने सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु हो । कुनै पनि समुदायमा शिक्षाको ज्योतिले ल्याउनसक्ने परिवर्तनलाई चलचित्रमा देखाइएको छ । वादी समुदायकी आमाले आफूविरुद्ध भएको शोषणको जानकारी शिक्षाका माध्यमले पाउँछिन् । त्यसपछि उनी आफ्नो अधिकारको लागि समाज र सामन्तसँग लडछिन् । चलचित्र निर्माण गर्नुको मुख्य उदेश्य नै शिक्षाले ल्याउने परिवर्तनलाई दृश्यभाषाका माध्यमले बुझाउनु रहेको अभिनेता रवीन्द्रसिंह बानियाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “हामीले चलचित्र तयार गर्दा नै समुदायलाई कुनै पनि किसिमले ठेस नपुगोस् भनेर सजकता अपनाउँदै पटकथा तयार गरेका थियौँ । हाम्रो उदेश्य नै शिक्षाले जीवनमा ल्याउने परिवर्तन देखाउनु थियो । एउटा समुदायमा ‘प्रथा’ भनेर गरिएको शोषणलाई शिक्षाले नै हटाउन मद्दत गर्छ, हामीले दिएको सन्देश दर्शकसम्म स्पष्ट रुपमा पुगेको छ ।”

    उहाँले कथामा रहेकी पात्र वादी समुदायको रहे तापनि चलचित्रले आमा र छोरीकै कथालाई मुख्य कथानक बनाएको बताउनुभयो । सोही कारणले पनि होला पछिल्लो समय चलचित्र हेर्न आउनेमा विद्यार्थी बढी देखिन्छन् । विद्यालयले नै विद्यार्थी शिक्षाको महत्वबारे बुझाउन चलचित्र देखाइरहेका छन् । अभिनेता बानियाँले चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ प्रमाणपत्र दिएका कारण सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने बताउनुभयो ।

    “पछिल्लो समय म नेपालभर नै दर्शकसँग भेटघाट गर्न पुगेँ, सबै उमेर समूहका दर्शक चलचित्र हेर्न आएको पाएँ । यसपटक हामीले मनोरञ्जनसँगै चलचित्रमार्फत सन्देश पनि दिएका छौँ, जसले दर्शकमा सुक्ष्म रुपमा भए पनि प्रभाव पारेको छ । सोही कारण शिक्षक र विद्यालयले पनि चलचित्र हेराउन थालेका छन्”, अभिनेता बानियाँले भन्नुभयो ।

    उक्त चलचित्रमा वादी समुदायकी महिलाको भूमिकामा अभिनेत्री खड्का देखिनुभएको छ । चलचित्रलाई वादी समुदायको पृष्ठभूमिमा रहेर तयार गरिए तापनि चलचित्र भने आमा र छोरीकै कथामा केन्द्रित रहेकी अभिनेत्री खड्काले बताउनुभयो ।

    “यो चलचित्रमा आमाले छोरीको रक्षाका लागि के सम्म गर्न सक्छिन् भन्ने देखाइएको छ । ‘प्रथा’ भनेर मानिएको परम्परागत चलन ‘कुप्रथा’ रहेछ भन्ने ज्ञान र त्यसविरुद्ध आवाज उठाउने आँट शिक्षाबाट प्राप्त भएको छ, यसकारण पनि यो सामाजिक दायित्व बोकेको एउटा चलचित्र हो”, अभिनेत्री खड्काले स्पष्ट गर्नुभयो ।

    उहाँले आफ्नो पात्रलाई तयार गर्न छायाङ्कन गरिएकै स्थल बर्दियामा पुगेर मान्छे भेटघाट गर्नुभएको थियो । आफ्नो पात्र वा चलचित्रको कथाले कुनै समुदायलाई चोट नपु¥याओस् भन्नेमा उहाँसँगै सम्पूर्ण निर्माण समूह नै सजग थिए । सोही कारण चलचित्र प्रदर्शन अगाडि विवादमा आए तापनि वादी समुदायकै अभियन्ताले तारिफ गरेका छन् । वादी समुदायकै अभियन्ताका रुपमा चिनिएकी देविसरा वादी ‘हन्ना’ले चलचित्रले समुदायमा शिक्षा महत्वलाई प्रष्ट्याएको बताउनुभयो ।

    “मैले चलचित्रको पोस्टर हेर्दा कतै हाम्रो समुदायलाई ठेस पुग्ने कथा त छैन भन्ने सोचेकी थिएँ, तर चलचित्र हेरेपछि यो त हाम्रो समुदायले हेर्नैपर्ने रहेछ भन्ने लाग्यो । म पनि एक संस्थामार्फत हाम्रो समुदायको बालबालिकालाई शिक्षा दिने र रोजगारका लागि अब्बल बनाउने कार्यमा लागिरहेकी छु, यो सब शिक्षाकै कारण सम्भव भएको हो । त्यसैले गर्दा चलचित्रले दिएको सन्देश र हामीले समुदायको उत्थानका लागि गरिरहेको सङ्घर्ष मिलेको छ”, उहाँले भन्नुभयो ।

    चलचित्र निर्माण गर्ने सल्लाह हुँदा नै यसलाई सन्देशमूलक र मनोरञ्जनात्मक बनाउन पटकथा लेखनमा धेरै समय खर्चिएको पटकथाकार प्रदीप भट्टराईले बताउनुभयो ।

    “यो चलचित्र हामीले जसका लागि बनाएका छौँ, वा जुन समुदायको कथा भनेका छौँ, उहाँहरूलाई आफ्नो लागोस् भनेर हामीले धेरै छलफल र सल्लाह गरेर पटकथा तयार गरेका थियौँ । झण्डै एक वर्ष हामीले पटकथामा छलफल गरेर विज्ञको सल्लाह लिएर, स्थानीय जनता तथा सम्बद्ध क्षेत्रका अभियन्तासँग परामर्श गरेर चलचित्र छायाङ्कन गरेका थियौँ । चलचित्र निर्देशक र कथाकारको कल्पना पनि हो, तर हामीले तयार गर्दा यसलाई निकै सावधानीपूर्वक तयार गरेका छौँ”, पटकथाकार भट्टराईले भन्नुभयो ।

    चलचित्रको सार्वजनिक सामग्रीले गर्दा दर्शक पहिला पारिवारिक चलचित्र होकी होइन भन्नेमा द्विविधामा हुनुहुन्थ्यो, यद्यपि प्रदर्शनका दिनहरु बित्दै गएपछि दर्शकको चाँप झन् बढ्दो छ । आज शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्र ‘लालीबजार’ मा दर्शक बढिरहेका छन्, प्रदर्शकले देशभर १६० ‘शो’ उपलब्ध गराएका छन् । यसले गर्दा पनि चलचित्रले आगामी दिनमा घरेलुबजारमा दर्शकको राम्रो साथ पाउने अनुमान गर्न सकिन्छ ।

    ‘टल्क जङ्ग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’जस्ता चलचित्र निर्माण गरेको षट्कोण आटर््सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री खड्का, अभिनेता बानियाँ, विशाल देवकोटा, मुकुन्दकुमार श्रेष्ठ, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापालगायतको अभिनय रहेको छ । चलचित्रलाई यम थापाले निर्देशन गर्नुभएको हो ।