Author: admin

  • मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

    मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

    काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

  • ८८ अर्ब बराबरको निर्यात

    ८८ अर्ब बराबरको निर्यात

    वीरगञ्ज, १५ जेठः चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

    गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिनुभयो ।

    चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।

    यसैगरी, रु तीन अर्ब तीन करोडका कपडा तथा रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ ।रासस

  • आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान

    आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान

    काबुल: अफगानिस्तान अत्यधिक उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण आमा र नवजात शिशुहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक बनेको संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष (यूएनएफपिए) लाई उदृत गर्दै शनिबार स्थानीय मिडियाले रिपोर्ट गरेका छन् ।

    युएनएफपिएको प्रतिवेदन अनुसार अफगानिस्तानमा प्रति एक लाख जीवित जन्महरूमा ५२१ नवजात मृत्युको रेकर्ड गरेको छ, जुन एसिया–प्रशान्त क्षेत्रमा तथा विश्वव्यापी रूपमै सबैभन्दा उच्च मृत्युदर हो ।

    एजेन्सीले हाल अफगानिस्तानमा करिब ५०० परिवारलाई स्वास्थ्य सेवा दिएको छ भने २०२६ मा लगभग ४५ लाख मानिसहरूलाई दुर्गम र कम सेवा भएका क्षेत्रहरूमा विशेष ध्यान दिएर आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।

    कोष र प्रशिक्षित चिकित्सा कर्मचारीहरूको निरन्तर अभावले रोकथाम योग्य रोगबाट हुने मृत्यु घटाउने प्रयासहरूलाई चुनौती दिइरहेको जनाइएको छ । सिन्ह्वा

  • पार्किङ गर्ने विषयमा विवाद हुँदा एकजनाको मृत्यु, एकजना पक्राउ

    पार्किङ गर्ने विषयमा विवाद हुँदा एकजनाको मृत्यु, एकजना पक्राउ

    वीरगंज, २३ माघ । मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा एकजनाको मृत्यु भएको छ ।
    शुक्रवार बिहान ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङ गर्ने विषयमा वर्ष ६५ का केपी चन्द राउत बरई र वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बस्ने वर्ष ३२ का मुन्ना भन्ने अर्जुन यादवबीच झगडा भएको थियो ।
    विवादमा केपी चन्द राउत बरई गम्भीर घाइते हुनुभएकोमा उपचारको क्रममा तराई अस्पताल, वीरगंजमा  बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो ।
    कुटपिटमा संलग्न अर्जुन यादवलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
    मोटरसाइकल पार्किङ गर्ने विषयलाई लिएर उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा वीरगंज महानगरपालिका १३ राधेमाईका ६५ वर्षीय केपीचन्द्र राउत बरईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार राधेमाईस्थित कर्बाेला अगाडी मोटरसाइकल पार्किङ गर्ने विषयमा राउत र यादव बीच विवाद भई कुटपिटमा राउत गम्भीर घाइते भएका थिए ।
    गम्भीर घाइते भएका राउतलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पतालमा लैजांदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
  • जुनियर फुटबल प्रतियोगिता शुरू

    जुनियर फुटबल प्रतियोगिता शुरू

    वीरगंज, २१ माघ । ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता आजदेखि आदर्शनगर रंगशालामा शुरू भएको छ। जीवन ज्योति माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा उदघाटन समारोह सम्पन्न भएको हो।

    नगरप्रमुख सिंहले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उदघाटन गर्दै शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो। उहाँले ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिताले साना बालबालिकालाई शैक्षिक विकाससँगै खेलकुदमा समेत अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। “ग्रासरूट तहबाट खेलकुदको विकास भएमा विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा ठूलो योगदान पुग्छ,” नगरप्रमुख सिंहले भन्नुभयो।

    कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल,प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकारहरू मनि पाख्रिङ र लालबाबु पटेल,प्याब्सनका वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्माननद कुशवाहा, पूर्व अध्यक्ष आलोक चौरसिया, महानगर सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेल, जिएचपी स्कुलका डाइरेक्टर ज्याक कौर, प्रिन्सिपल रमित कौरलगायत विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगितामा १३ वटा विद्यालयको सहभागीता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको स्वागत मन्तव्य जीवन ज्योति स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ताले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।

  • श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    काठमाडौँ, २१ माघ : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ ।

    वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार छ सय ४५ रुपैयाँ ८४ पैसा दिलाएको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आज मृतकका श्रीमती उमादेवीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभयो ।

    श्रमिक कानुनको २०७९ साउन २७ गते मृत्यु भएको थियो । कानुको रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका कारण उहाँका परिवार सामाजिक सुरक्षाबाट वञ्चित भएको थियो ।

    पीडित पक्षका तर्फबाट श्रीमती उमादेवीले २०७९ कात्तिक २५ गते आश्रित परिवार सुरक्षा सम्बन्धमा पाउनुपर्ने सबै सुविधा उपलब्ध गराइँ पाऊँ भनी निवेदन दिनुभएको थियो । कोषले २०७९ मङ्सिर १५ गते उक्त विषयमा जानकारी गराउन रोजगारदातालाई पत्राचार गरेको थियो ।

    रोजगारदाता र पीडितपक्षबीच मिलापत्र हुन नसकेपछि कोषले आश्रित परिवार सुविधाबापतको सुविधा दिन रोजगारदातालाई आदेश दिएको थियो । कोषको आदेश चित्त नबुझेपछि रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरेकामा २०८० चैत १२ गते उच्च अदालतबाट कोषको फैसला सदर भएको थियो ।

    उच्च अदालतको फैसलालाई लिएर रोजगारदाता सर्वोच्च पुगेपनि सर्वोच्चले कोषकै फैसलालाई सदर गरेको थियो । अदालती प्रक्रिया टुङ्गेपछि गत मङ्सिर २८ गते कोषले रोजगारदाताको बैङ्क खाता रोक्का राख्न नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो । सम्बन्धित रोजगारदाताका तर्फबाट आश्रित परिवारले पाउने रकम भुक्तानी गरेपश्चात उक्त खाता फुकुवा गरिएको कोषले जनाएको छ ।

    योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ९ को उपदफा ४ मा कोषमा सूचीकरण नगर्ने, नगराउने वा योगदान रकम नबुझाउने रोजगारादतालाई बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता रोक्का, सम्बन्धित व्यक्ति वा संस्थाको चलअचल सम्पत्ति रोक्का, प्रचलित कानुन बमोजिम पाउने छुट सहुलियत निलम्न गर्न वा रोक्का, अनुमतिपत्र वा इजाजतपत्र निलम्बन र राहदानी रोक्का गर्न सक्ने अधिकार कोषलाई दिएको छ ।

    ऐनकै दफा ९ को उपदफा ६ ले सूचीकृत रोजगारादताले योगदानबापतको रकम कोषमा जम्मा नगरेमा त्यस्तो अवधिपछि योगदान रकम कोषमा जम्मा नगरेको अवधिभित्र दुर्घटना वा मृत्यु भई श्रमिकलाई सुविधा उपलब्ध गराउनुपर्ने भएमा त्यस्तो सुविधा बराबरको रकम सम्बन्धित रोजगारादताले नै श्रमिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

    कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताउनुभयो । “जुनसुकै अवस्थामा पनि श्रमिकले सामाजिक सुरक्षाको हक पाउँछ”, उहाँले भन्नुभयो, “रोजगारदाताले अबाद्ध गरेर नियमित योगदान गरे कोषले सुविधा दिन्छ, होइन भने रोजगारादताले नै उक्त सुविधा दिनुपर्छ ।”

    कोषका निर्देशक एवं कोष व्यवस्थापन महाशाखा प्रमुख रोहित रेग्मीले कोषमा आबद्ध नभएकै व्यक्तिको आश्रित परिवारले पनि सामाजिक सुरक्षा पाउन सफल भएको बताउनुभयो । “आजको दिनमा सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि÷नभए पनि सबै नागरिक सामाजिक सुरक्षा पाउनका लागि योग्य छन्”, उहाँले भन्नुभयो, “त्यसैको उदाहरण हुनुहुन्छ उमादेवी । कोषमा आबद्ध नभएका रामानन्दको निधन हुँदै गर्दा उहाँले जीवनभर पाउने पेन्सन हिसाब गरेर रोजगारदाताले नै सो रकम व्यहोर्नु परेको हो ।”

    रामानन्दका श्रीमती उमादेवीले सामाजिक सुरक्षा कोषले आफूलाई न्याय दिएको बताउनुभयो । “आफूले श्रीमानको निधनपछि कोषबाट सुविधा पाउँछु भन्ने कल्पनै गरेको थिइनँ, आज आश्रित परिवास सुविधाबापतको रकम कोषले दिलायो”, उहाँले भन्नुभयो, “पीडित भए पनि आज म निकै खुसी छु ।”

    सामाजिक सुरक्षा योजनामा आबद्ध नगराएको अवस्था मृत्यु भएका श्रमिकका ४० भन्दा बढी आश्रित परिवारलाई सुविधा दिन सफल भएको कोषले जनाएको छ । कोषमा नियमित योगदान गरिरहेका ८०० भन्दा बढी आश्रित परिवारले विभिन्न सुविधा पाइरहेका छन् ।

    कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख ७३ हजार र वैदेशिक क्षेत्रका २१ लाख छ हजार गरी २७ लाख ८१ हजार बराबर योगदानकर्ता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधाबापत योगदानकर्तालाई रु १८ अर्ब ६३ करोड दाबी भुक्तानी गरिसकेको छ ।

  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    वीरगंज, २१ माघ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।

    पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने वर्ष ३२ को अनिल कुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

    प्रमोद प्रसाद गुप्ताको जाहेरीले बादी नेपाल सरकार, प्रतिवादी जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने वर्ष ३२ को अनिल कुमार गुप्ता भएको बैंकिङ कसूर (मुद्दा नं. ०८०–८१–०९१२) मुद्दामा पर्सा जिल्ला अदालतको फैसलाले रू. ५ लाख  जरिवाना र ३ दिन कैद र रू. २० हजार पीडित राहत कोषमा जम्मा गर्ने तोकिएपछि फरार भएका थिए ।

    प्रतिवादी अनिल कुमार गुप्तालाई माघ १९ गते कारागार कार्यालय पर्सा स्थित सडकखण्डबाट जिप्रका, पर्साको फैसला कार्यान्वयन टोलीले नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतमा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।

  • वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

    वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

    काठमाडौँ, १८ माघः फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।
    आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्ने छ ।
    अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताउनुभयो ।
    उहाँले भन्नुभयो, “प्रणालीले मध्यनेपालभन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ, आज पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली भएको छ, त्यो बदली बढ्छ । मङ्गलबार मध्यनेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढाउँछ ।”
    मौसमविद् अधिकारीका अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ । कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेस प्रदेशमा भने असर न्यून रहने उहाँले बताउनुभयो । काठमाडौँमा मङ्गलबार राति छिटपुटसम्म वर्षा हुन सक्ने छ ।
    सोमबार तराई भू–भागका केही स्थानमा हुस्सु÷कुहिरो रहने तथा देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    सोमबार राति तराई भू–भागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।
    मङ्गलबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का  हिमपात÷वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका  बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
    राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का  हिमपात÷वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।रासस
  • आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न

    आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न

    काठमाडौँ, १८ माघः आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

    आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता सम्पन्न भएको हो । यससँगै आगामी वर्ष बेलायत र वेल्समा आयोजना हुने विश्वकप खेल्ने चार टोलीको टुङ्गो लागेको छ । चार टोलीमा बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड रहेको छन् ।

    आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।

    जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।

    छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली भने समूह चरणका चार खेलमध्ये तीनमा हार र एकमा जितको नतिजा निकाल्दै समूह ‘बी’ का पाँच देशमध्ये चौथो स्थानमा रह्यो ।

    नेपालसहित १० देशका महिला टोली सहभागी प्रतियोगितामा त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा गरी २९ खेल भएका थिए ।

    बङ्गलादेशकी कप्तान ज्योति सुल्ताना ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् भने प्रतियोगितामा स्कटल्यान्डकी ग्याबि लुइस उत्कृष्ट ब्याटर तथा अमेरिकी तारा नोरिश उत्कृष्ट बलर घोषित भइन् ।

    प्रतियोगिताका चारवटै खेल जितेर १० अङ्क हासिल गरेको बङ्गलादेशले ट्रफी प्राप्त गरेको छ ।

  • आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

    आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

    काठमाडौँ, १८ माघः निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसका लागि भअल।अयअ२भभिअतष्यल।नयख।लउ मा इमेलमा उजुरी पठाउन सकिने र त्यसरी उजुरी गर्नेको पहिचान गोप्य राखी आवश्यक कारबाही अगाडि बढाउने उहाँले बताउनुभयो ।

    जिल्ला आचारसंहिता अनुगमन समितिले समेत जिल्ला–जिल्लामा यस्ता अलग्गै इमेलको व्यवस्था गरेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

    आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारीअन्तर्गत गत हप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकार भएकाहरूका जिज्ञासा सम्बोधनलगायत कार्यसम्पादन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन
    निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ मा भएको व्यवस्थाअनुसार निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही माघ ११ गते केन्द्रको उद्घाटन गर्नुभएको थियो ।

    आयोगका सचिवको संयोजकत्वमा सञ्चालन भएको सो केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागलगायतका निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको छ । केन्द्रले निर्वाचन सम्बन्धमा जिल्ला तथा निर्वाचन क्षेत्रस्तरबाट प्राप्त सूचना विश्लेषण र समस्याहरू पहिचान गरी समाधानका लागि सहजीकरण गरिरहेको जनाइएको छ ।

    तोकियो जिल्ला आचारसंहिता अनुगमन अधिकृत
    जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेक अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न जिम्मेवारी दिइएको हो ।

    यसरी जिम्मेवारी दिइएको आचारसंहिता अनुमगन अधिकृतहरूले सरोकार भएकाहरूलाई आचारसंहिताबारे जानकारी गराउने काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    यसैगरी आचारसंहिता पालनाका लागि प्रतिबद्धता गराउने, जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र सरोकार भएकाहरूबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, आचारसंहिता पालना भए, नभएकाबारे अनुगमन गर्ने, प्राप्त उजुरी तथा सूचनाका आधारमा सम्बन्धित व्यक्ति÷संस्थालाई स्पष्टीकरण सोध्नेलगायत कार्य भइरहेका आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

    उम्मेदवारका लागि बैङ्क खाता
    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति र राजनीतिक दलहरूलाई निर्वाचन खर्च प्रयोजनाका लागि छुट्टै बैङ्क खाता सञ्चालनको व्यवस्था गरेको छ । त्यस लागि नेपाल राष्ट्र बैङ्कलाई पत्राचार र निर्वाचन अभियान बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि तर्जुमा गरिएको छ ।

    निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन अभियानका क्रममा गर्ने आम्दानी र खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्क तथा वित्तीय संस्थामा राजनीतिक दल तथा उम्मेदवारले अलग–अलग खाता खोलेर त्यसमार्फत रकम प्राप्त गर्ने र खर्च गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

    खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धमा ‘निर्वाचन अभियान बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ तयार गरी सोहीअनुसार सहजीकरणका लागि राष्ट्र बैङ्कमा पत्राचार गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

    केन्द्रीय आचारसंहिता अनुमगन समितिले दल तथा उम्मेदवारका क्रियाकलाप नजिकबाट हेरिरहेको जनाएको छ । प्राप्त उजुरीका आधारमा कारबाही अघि बढाइएको पनि आयोगले जनाएको छ । समितिमा हालसम्म प्राप्त भएका २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा १२ वटाको जवाफ प्राप्त भएको जनाइएको छ । समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनका क्रममा रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।रासस