वीरगंज, २६ कार्तिक । छठ पर्वलाई सभ्य, भव्य, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले वीरगंजस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको कार्यालयमा छलफल बैठक सम्पन्न भएको छ।
वडा प्रहरी कार्यालय बिर्ता, पर्साको नेतृत्वमा आयोजित बैठकमा छठ पर्वका अवसरमा विभिन्न छठघाटमा हुने भक्तजनको भीड व्यवस्थापन, सुरक्षा, सरसफाइ तथा सहज आवागमनलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो।
बैठकमा घडिअर्वा छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल छठ पूजा व्यवस्थापन समिति तथा पशुपति आदर्श क्लब, आदर्शनगरका प्रतिनिधिहरूले संयुक्त रूपमा छठघाटमा स्वयंसेवक परिचालन गर्ने प्रस्ताव गरेका थिए।
छठघाटमा आउने व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज वातावरण उपलब्ध गराउन, भीड नियन्त्रण गर्न, सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा घाटको सरसफाइ कायम राख्न विभिन्न संघसंस्था र सुरक्षा निकायबीच समन्वय गरेर स्वयंसेवक परिचालन गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख विक्रम सुवेदी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह, स्विमिङ पुल छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष नन्दु प्रसाद ठाकुरलगायत विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरूले आपसी समन्वय र सहकार्यबाट छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गराउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

