वीरगंज, २६ कार्तिक । छठ पर्वलाई स्वच्छ, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले पर्सा र बारा जिल्लाका सुरक्षा निकाय, उद्योग वाणिज्य संघ तथा वीरगंज महानगरपालिकासहितको संयुक्त टोलीले श्रीसिया नदी र आसपासका उद्योगहरूको अनुगमन गरेको छ।
छठ पर्वका अवसरमा नदीको स्वच्छता कायम राख्ने, उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानीको व्यवस्थापन गर्ने र नदीमा प्रदूषण हुन नदिने उद्देश्यले संयुक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा श्रीसिया नदीको वर्तमान अवस्था, नदीमा मिसिने फोहोर तथा औद्योगिक गतिविधिबाट पर्न सक्ने वातावरणीय प्रभाववारे स्थलगत निरीक्षण गरिएको थियो।
अनुगमनपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले छठ पर्व सम्पन्न नभएसम्म सिरसिया नदी तथा आसपासका उद्योगहरूको अनुगमन दैनिक रूपमा गरिने जानकारी दिए। उनले छठ पर्वलाई लक्षित गर्दै नदीलाई स्वच्छ राख्न र उद्योगहरूलाई वातावरणीय मापदण्ड पालना गराउन नियमित निगरानी गरिने बताए।
उनका अनुसार नदीको स्वच्छता र वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएकाले सम्बन्धीत निकायहरूबीच समन्वय गरेर अनुगमनलाई निरन्तरता दिइनेछ।
संयुक्त अनुगमन टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्री, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतको सहभागीता रहेको थियो।
त्यसैगरी बारा जिल्लाका प्रमुख जिल् ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), उद्योग वाणिज्य संघका प्रतिनिधि तथा वीरगंज महानगरपालिकाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
छठ पर्वमा श्रीसिया नदी आसपासका क्षेत्रमा श्रद्धालुहरूको आवागमन र धार्मिक गतिविधि बढ्ने भएकाले नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण तथा वातावरणीय स्वच्छता कायम राख्न संयुक्त अनुगमनलाई प्राथमिकता दिइएको जनाइएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ र महानगरपालिकाबीचको समन्वयमा सञ्चालन गरिएको यस अभियानले छठ पर्वका बेला नदीको स्वच्छता कायम राख्न तथा औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

