वीरगंज, २६ कार्तिक । हिन्दू धर्मावलम्बीहरूको आस्था, श्रद्धा, पवित्रता तथा लोकविश्वाससँग जोडिएको महान् पर्व छठको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय बजरङ दल, पर्साले नेपाल टेलिकम तथा एनसेल कार्यालय वीरगञ्जमा ज्ञापनपत्र बुझाएको छ।
राष्ट्रिय बजरङ दल, पर्साले छठ पर्वको पावन अवसरमा नेपाल टेलिकम र एनसेलका सम्पूर्ण सिम प्रयोगकर्ताहरूका लागि छठ पर्वसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक भक्ति गीतलाई विशेष रिङब्याक टोन (Caller Tune) का रूपमा उपलब्ध गराउन माग गरेको हो।
छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृति, सूर्यदेव, जल तथा स्वच्छताको आराधना गर्ने महान् लोकपर्व भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यस पर्वले समाजमा धार्मिक सद्भाव, पारिवारिक एकता, अनुशासन, पवित्रता तथा आपसी भाइचाराको सन्देश प्रवाह गर्दै आएको दलको भनाइ छ।
आधुनिक सञ्चार प्रविधिको माध्यमबाट पनि मौलिक संस्कृति, परम्परा र धार्मिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न सकिने भएकाले मोबाइल फोनको रिङब्याक टोनमा छठ पर्वका भक्ति गीतहरू समावेश गर्न आवश्यक रहेको राष्ट्रिय बजरङ दल, पर्साले जनाएको छ।
यस पहलबाट छठ पर्वको धार्मिक महिमा, सांस्कृतिक महत्त्व र आध्यात्मिक सन्देश आम नागरिकसम्म सहज रूपमा पुग्नुका साथै नयाँ पुस्तामा समेत आफ्नो मौलिक संस्कृति र परम्पराप्रति जागरूकता बढ्ने विश्वास दलले व्यक्त गरेको छ। साथै, दुवै दूरसञ्चार सेवा प्रदायक संस्थालाई उक्त मागप्रति सकारात्मक पहल गर्दै यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा राष्ट्रिय बजरङ दल, पर्साका जिल्ला अध्यक्ष रुपल जैसवाल, जिल्ला मन्त्री हरि यादव तथा सदस्य सचिन साह सहभागी थिए।
यस सम्बन्धमा राष्ट्रिय बजरङ दलका प्रदेश महामन्त्री श्याम रौनियारले जानकारी गराएका हुन्। राष्ट्रिय बजरङ दल, पर्साले धर्म, संस्कृति तथा सनातन परम्पराको संरक्षण र प्रवर्द्धन नै आफ्नो प्रमुख संकल्प रहेको जनाएको छ।

